धेरैले सपना देख्छन् शहर जाने, विदेश जाने, तर देशमा त्यस्ता विरलै व्यक्ति भेटिन्छन् गाँउमै बसि आफ्नै माटोमा केही गर्ने । त्यस्तै विरलै व्यक्तिमध्येका एक हुन् कृषि व्यवसायि तेज कुमार बस्नेत ।
खोटाङ्गको रावाखोलामा जन्मिएर २०५२ सालमा धानखेती गर्न मोरङ्गको रंगेलीमा बसाई सरेका बस्नेत विगत ४ बर्ष देखि व्यवसायिक कृषिमा व्यस्त छन् । सुरुमा गाई बाख्रा कुखुरा समेत पालेका उनी अहिले विभिन्न प्रजातीका फलफुल र तरकारी खेती गरीरहेका छन् । कोशी प्रदेशको विराटनगरबाट पुर्व रंगेली क्रसियामा रहेको खप्तड सामुहिक कृषि फार्मका संचालक बस्नेतले गाँउमै १५ हजारको लगानीमा सुरु गरेको संघर्ष, मेहनत र सफलताको कथाले धेरैको मन लोभ्याउने गरेको छ ।
अहिले उनले परिवारको सहयोगमा पर्माकल्चर पद्धतीलाई अंगाल्दै आफनो फार्ममा १ बिगा जमिनमा धेरै थरीका फलफुल र तरकारी लगाएर बर्षको १५ लाख बढि आम्दानी गर्दै आएका छन् । सानै फार्म भएपनि अहिले विभिन्न प्रजातीका ५ सय बोट ड्रागन, कुरीलो मेवा अदुवा अलैची अकबरे खोर्सानी लगायतले दैनिक आम्दानी दिइरहेका छन् । जसको बजारीकरण गर्न विराटनगर बस्दै आएका इन्जिनियर जेठो छोराले सहयोग गर्दैै आएका छन् । तेजले ठूला डिग्री त पाएनन्, तर प्रकृतिबाट सिके ।
माटोलाई स्कुल, बिउलाई किताब ठान्दै युट्युवबाटै सिकेर सुरु गरेका थिए । पर्माकल्चर खेती । आज तेज बस्नेत गाउँकै उदाहरण बनेका छन् । शहरले सपना देखाउँछ गाउँले त्यो साकार बनाउँछ । उनले अहिले अरुलाई पनि कृषि व्यवसाय गर्न सिकाइरहेका छन् ।
खेतलाई उद्योग बनाउने तरिका, पर्माकल्चरको ज्ञान, र आत्मनिर्भर हुने हिम्मत । कृषिमा सुनौलो भविष्य देखेका कृषि उद्यमी तेज कुमार बस्नेतका सपना र बाँकि योजना पुरा हुदै जाउन हाम्रो शुभकामना ।








