राजनीतिलाई समाजसेवाको रुपमा बुझेका भक्ती सिटौला भित्र एउटा राजनीतिज्ञ मात्र छ भनेर बुझियो भने गलत हुनेछ । गित, संगित भनेपछि हुरुक्कै हुने उनी अहिले पनि मौका मिल्दा बच्छेवाजामा धुन बजाउदै हिड्छन । गितमा लय हाल्ने देखी गित रचना पनि आफैं गर्छन ।
विद्यार्थीकालदेखी नै नेपाली कांग्रेसको राजनीतिमा भिजेका उनी कांग्रेसले विपीको सिद्धान्त छाडेर गणतन्त्र रोजेपछि भने राष्ट्रिय प्रजातन्त्र पार्टी तर्फ आकर्षित भए । २०७० सालदेखी उनले कांग्रेस त्यागेर राप्रपाको राजनीति सुरु गरे । अहिले उनी राप्रपाको केन्द्रिय प्रवक्ता समेत रहेका छन ।
तम्मर खोलामा राणाकालमा नै पहिलो पटक हजुरबुवाले नीजि लगानीमा पुल बनाएर आम जनताको जीवन यापनलाई सहज बनाउने काम गरेपछि बाल्यकालबाट नै राजनीति समाज सेवा हो भन्ने बुझेका सिटौला अहिले पनि फुर्सद भयो भने चौपाय स्याहार्न र चिया बगानमा चिया टिप्न पुग्छन । राजनीति पेशा होइन भन्ने मान्यता बोकेका उनी राजनीतिज्ञलाई आर्थिक भरथेग गर्न अन्य क्षेत्रबाट नियमित आम्दानी हुनु पर्ने बताउछन । राजनीतिज्ञको आर्थिक जग राम्रो नभए त्यहा भ्रष्टचार हुन सक्ने संभावना बढी रहने उनको मान्यता छ ।