विराटनगर, सार्बजनिक स्थानमा शौच गर्नेलाई गाउँपालिकाले सम्मान गर्यो भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर, मोरङको कटहरी गाउँपालिकाले सार्वजनि स्थलमा शौच गर्नेलाई सम्मान गर्न थालेको छ ।
यतिसम्मकी अभियानलाई असहयोग गर्ने व्यक्तिहरुलाई दिसा गर्न गएकै बेला प्रहरी लगाएर पक्राउ गर्ने र दिसा गर्न जाँदै गरेकाहरुलाई भने चोकमा ल्याएर चिया नास्ता पनि खुवाउने गरिएको छ ।
मंसिर २९ मा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न लागेको गाउँपालिकाले शौचालय निर्माण अभियान तीव्र बनाएको छ । तर, घरमा शौचालय नबनाई खुल्ला स्थानमा शौच गर्नेलाई सार्वजनि स्थलमै लगेर सम्मान गर्न थालेको छ । कटहरी गाउँपालिका ३ स्थित चक्रपथमा दुई दिनमा शौच गर्न गएका ९ जनालाई प्रहरीले पक्राउ गरी सम्झाएर छाडिसकेको छ ।
गाउँपालिकामा भने केही दिनयता सार्बजनिक स्थानमा सौच गर्नेलाई सम्मान गर्ने अभियान चलाइरहेको छ । खासगरी खुल्ला दिसामुक्त क्षेत्र घोषणाको अभियान सञ्चालन गरिरहे पनि त्यसलाई अटेर गरी सार्वजनिक स्थलमा शौच गर्न नछाड्नेलाई कारवाही स्वरुप नजिकको चोकमा लगेर माला लगाई सम्मान गर्न थालेको हो ।
गाउँपालिकाले खुला दिशामुक्त क्षेत्र घोषणा गर्न प्रहरीको पनि सहयोग लिँदै आएको छ । बिहान शौच गर्न जाने र फर्कने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ । गाउँपालिका अध्यक्ष रामकुमार कामतका अनुसार उनीहरुलाई पक्राउपछि केहीबेर सम्झाएर छाड्ने गरिएको छ ।
मोरङमा रहेका १७ वटा स्थानीय तहमध्ये १२ वटा स्थानीय तह खुल्ला दिशामुक्त क्षेत्र घोषणा भइसकेका छन् । खुल्लादिशामुक्त क्षेत्र घोषणा गर्न बाकी रहेका ५ वटा स्थानीय तहलाई मंसिर महिना भित्र खुलादिशामुक्त क्षेत्र घोषणा गर्ने तयारी गरिएको छ ।
मंसिर २९ गते गाउँपालिकालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने तयारी गरिएकाले शौचालय निर्माणका लागि गाउँपालिकाले विपन्न परिवारका लागि रिङ उपलब्ध गराएको छ ।