जेष्ठ १,२०८३ / १२ : ३९ पूर्वान्ह / 2026-05-15 12:39 am
      • param ad
      • furniture
      • veera Incorporation

      ओझेलमा एसियाकै ठूलो चमेरे गुफा

      - ८ वर्ष अगाडि
      फागुन १४,२०७४

      तुलसीपुर : ऐतिहासिक तथा पुरातात्विक इतिहास बोकेको एसियाकै ठूलो गुफा मानिएको दाङको तुलसीपुर उपमहानगरपालिका–४ हलवारस्थित चमेरे गुफाको प्रचार र संरक्षण नगरिँदा अझै ओझेलमा छ।

      चार तला रहेको, सबै तलामा सहजै जान सकिने र चमेराको बसोबासको केन्द्र रहेको गुफा प्रचार र संरक्षण नगरिँदा बर्सौंदेखि ओझेलमा परेको हो। पौराणिक महत्व बोकेको यो गुफा ऐतिहासिक पनि भएको स्थानीयहरू बताउँछन्। स्थानीय सिताराम पुनले गुफा चारतले, भर्‍याङको सहायताबाट एउटा तलाबाट अर्कोमा जान सकिने र सबै तलामा सयौं मानिस सजिलै बस्न सक्ने जानकारी दिए।

      गुफा ३० मिटर अग्लो, १६ मिटर लामो र ७ मिटर चौडा रहेको छ। सबै तलामा जान र बस्न सकिन्छ। गुफाको तल्लो तलामा एक हजारभन्दा बढी मान्छे अट्ने आकारको छ भने अन्य तलामा सयौंको संख्यामा रहन सक्ने स्थानीय बताउँछन्। प्रचारप्रसार तथा संरक्षण र विकासमा राज्यले चासो नदेखाउँदा पर्यटकीय सम्भावना बोकेको गुफा ओझलमै रहेको स्थानीयको गुनासो रहेको छ। पत्ता लागेको लामो समय बिते पनि गुफाको संरक्षण र विकासमा स्थानीय प्रशासनले समेत चासो नदिएको स्थानीयहरूले बताए।

      गुफा संरक्षण समितिका अध्यक्ष ढोलबहादुर घर्तीले गुफामा गुफामा एक हजार वर्ष पुराना अभिलेखहरू फेला परेको बताए। गुफाभित्र प्राचीनकालका विभिन्न आकृति र स्तुपहरू रहेका छन्। गुफाको भित्री भागमा झण्डै २ सय मिटरको सुरुङ रहेको र सुरुङभित्र प्राचीनकालका विभिन्न खालका चित्र र चिह्नहरू रहेका छन्। गुफामा विभिन्न भगवानका मूर्तिका, जनावरका आकृति, भेषभूषासहितका आकृति र विभिन्न अभिलेख रहेका छन्।

      १६ वर्ष अगाडि स्थानीयवासीको सक्रियतामा पहिलो पटक गुफाको अवलोकन र चिनारी गरिएको थियो। चिनारीसँगै २०५७ साल माघ १० गते तत्कालिन हलवार गाविसका केही व्यक्तिले गुफाको उद्घाटन गरी आन्तरिक पर्यटकका लागि गुफा अवलोकनको व्यवस्था मिलाएका थिए। तर राज्यले यसमा चासो नदिएकाले प्रचारप्रसार नभएको स्थानीयको गुनासो छ।

      समुद्र सतहदेखि १ हजार २ सय ३० मिटर उचाइमा रहेको चमेरे गुफा ऐतिहासिक , धार्मिक महत्वको भएको स्थानीयको दाबी छ। यो गुफाको प्रचारप्रसार गरी विश्वमै चिनाए एउटा महत्वपूर्ण पर्यटकीयस्थल बन्ने निश्चित छ। गुफा पर्यटकीयस्थलका रूपमा विकास गर्न सके यस क्षेत्रको विकास हुने निश्चित भएकाले चमेरे गुफाको संरक्षण र प्रचारप्रसार गर्न स्थानीयले माग गरेका छन्।

      देशकै ठूलो र एसियाकै दोस्रो ठूलो गुफाको विकासका लागि राज्य उदासिन रहेको गुनासो स्थानीय दीपक कुमालले गरे। ‘यसको विकास र संरक्षण गर्न सके आन्तरिक मात्र नभई बाह्य पर्यटकको आकर्षणको केन्द्र हुने पक्का छ’, उनले भने, ‘यसलाई राज्यले पर्यटकीयस्थलको रूपमा विकास गरे यो क्षेत्रको आर्थिक तथा पर्यटकीय विकास हुन सक्छ।’ यसको विकास र प्रचार गर्न सके विदेशी पर्यटकको अवलोकन क्षेत्र बन्ने कुमालको बुझाइ छ।

      यो गुफामा चमेराहरुको वासस्थान रहेकाले गुफाको नाम नै चमेरे गुफा राखिएको चमेरे गुफा संरक्षण समितिका रोखिराम पुनले बताए। अहिले पनि सयौको संख्यामा गुफामा चमेराहरु रहेका छन। अहिले स्थानीयले गुफामा दैवी शक्ति रहेको भन्दै पूजाआजा समेत गर्न थालेका छन्। राज्यले प्रचारप्रसार र संरक्षणको पहल नगरे पनि स्थानीयले प्रचारका लागि गरेको प्रयासले पछिल्लो समय गुफा हेर्न आउने आन्तरिक पर्यटकको संख्या बढेको गुफाका चौकीदार सिताराम पुनले बताए। उनले दैनिक १५÷२० जना आन्तरिक पर्यटक आउने गरेका जानकारी दिए। गुफा संरक्षण समितिले र स्थानीयले प्रचारप्रसारमा केही पहल गर्दा अहिले चमेरे गुफा अवलोकन आन्तरिक पर्यटकहरू बढेका छन्।

        सम्बन्धित समाचारहरु