विराटनगर, मोरङको बेलबारी(६ मा अनौठो प्रजातिको माछा भेटिएको छ । बेलबारीको सोमबारे र बनौलबीच नहरको पानीमा स्थानीयले पहिचान गर्न नसक्ने प्रजातिको माछा भेटिएको हो ।
सुनसरी–मोरङ सिँचाइ आयोजनाको यो नहरमा बुधबार दुईवटा माछा फेला परेका थिए । स्थानीय टेकनाथ शर्माले नयाँ जातको माछा भेटिएपछि त्यसको विषयमा जानकारी लिन चाहेर माछालाई सुरक्षित राखेका हुन् ।
बेलबारी नगरपालिका उपप्रमुख ढाकाकुमारी पराजुलीले अहिलेसम्म कसैले पहिचान गर्न नसकेको माछा भेटिएकोले त्यसको प्रमाणित गर्न चाहेको बताए ।
नयाँ प्रजातिको माछा भेटिएपछि धेरैलाई चासो भइरहेको छ । प्राणीशास्त्री एवम् वातावरण क्षेत्रका जानकार रामचन्द्र अधिकारीले हारा प्रजातिको माछा हुनसक्ने बताए । उनले फिल्डमै पुगेर माछाको अनवलोकन नगर्दासम्म यकिन हुन नसक्ने बताएका छन् । नेपालका लागि यो नयाँ प्रजाति मानिए पनि भारत र चीनमा पाइने प्रजातिमा पर्ने अधिकारीको भनाइ छ ।
उनका अनुसार आईयूसीएनले यो प्रजातिलाई लिस्ट कन्सर्न अर्थात् लोप हुन लागेको वा खतराको सूचीमा परेको भन्ने वर्गीकरण नगरेका प्रजातिको वर्गमा राखेको अधिकारीले बताए । यसको नौ प्रजाति हुने उनको भनाइ छ ।