काठमाण्डौ,एसिया कप छनोटका लागी श्रीलंकामा निरन्तर रुपमा अभ्यास खेल खेलेको नेपालले शुक्रबार को दोस्रो खेलमा ब्लुमफिल्ड क्लबलाई जितका लागि ३ सय २३ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी र सागर पुनले उत्कृष्ट प्रदर्शन गरेपछि ठुलो योगफल सम्भव भएको हो ।
टस पहिला ब्याटिंग गरिरहेको नेपाली टिमले दिपेन्द्र सिंह ऐरीको शतकीय पारीको मद्धतले ब्लुमफिल्ड क्लबलाई ३२४ रनको लक्ष्य दिएको छ। नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३२३ रन बनाएको छ।
दिपेन्द्रले आक्रामक ब्याटिंग गर्दै ९५ बलमा १२१ रन बनाएर आउट भए भने करण केसीले १२ बलमा २६ रन बनाएर आउट भएका थिए । नेपालले अन्तिम ओभरमा २ विकेट गुमाएको थियो।
नेपालका लागि सागरले ८४ बलमा ९२ रनको पारी खेलेका थिए भने अनिल कुमार शाह १७, कप्तान पारस खड्का २३, रोहित पौडेल ११ र सुबास खकुरेल ९ रन बनाएर आउट भएका थिए ।
आजको खेलमा ज्ञानेन्द्र मल्ल,सोमपाल कामी र बिनोद भण्डारी खेलेका छैनन् । दोस्रो अभ्यास खेलको अन्तिम ११ मा पारस खड्का (कप्तान), अनिल साह, बसन्त रेग्मी, दिपेन्द्र ऐरी, करण केसी, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, रोहित पौडेल, सागर पुन र सुबास खकुरेल रहेका छन्।
नेपालले बुधबार सम्पन्न पहिलो अभ्यास खेलमा श्रीलंका आर्मी क्रिकेट क्लब माथि ६७ रनको जित हाँसिल गरेको थियो। पहिले ब्याटिंग गर्दै नेपालले बनाएको १९४ रनको जवाफमा आर्मी क्लबले १२७ रन मात्रै बनाएको थियो। नेपालको जितमा आरिफ शेखले ८९ रनको शानदार इनिंग खेलेका थिए भने बलिङ्गतर्फ सोमपाल कामि र बसन्त रेग्मीले ३/३ विकेट लिएका थिए।








