काठमाडौं, अखिल नेपाल फूटबल सङ्घ (एन्फा) ले राष्ट्रिय टोलीको कार्यवाहक प्रशिक्षकको जिम्मेवारी सहायक प्रशिक्षक बालगोपाल महर्जनलाई दिएको छ ।
एन्फा बैठकले नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजी नेपाल प्रवेश गर्न नपाउने भएपछि महर्जनलाई सो जिम्मेवारी दिएको । यही भदौ १९ गतेदेखि हुने साफ च्याम्पियनसीप प्रतियोगिताको टोली चयन गर्नुका साथै प्रशिक्षण गराउनुपर्ने भएकाले महर्जनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिइएको हो ।
पर्यटक प्रवेशाज्ञामा नेपाल बस्दै आएका कोजीलाई ओभर स्टे गरेको भन्दै अध्यागमन विभागले केही समयअघि २०१८ भर नेपाल प्रवेश गर्न रोक लगाएको थियो । अठारौँ एसियन गेम्समा सहभागी हुन इण्डोनेसिया गउका उनी त्यहीँबाटै जापान गएका छन् ।
साफ च्याम्पियनसीपको समूह ‘ए’ मा रहेको नेपालले यही भदौ १९ गते पाकिस्तानविरुद्ध खेल्दै साफको शुरुआत गर्नेछ। नेपालले दोस्रो खेलमा भुटानसँग भदौ २१ र बङ्गलादेशसँग २३ मा खेल्नेछ। समूह ‘बी’ मा भारत, श्रीलङ्का र माल्दिभ्स छन् ।








