काठमाडौं, १८ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत फुटबलमा नेपाल सुरुवाती २ खेलमा पराजित भएसँगै समूह चरणबाटै बाहिरिने लगभग निश्चित छ ।
समूहमा तेस्रो टिम पनि दोस्रो चरणमा पुग्ने भएको हुँदा नेपालको गणितीय सम्भावना मात्र बाँकी रहेको छ । त्यसकारण आइतबार हुने पाकिस्तानविरुद्धको खेल नेपाली फुटबलको लागि नयाँ रेकर्ड बनाउने एउटा महत्वपूर्ण अवसर पाउने छ ।
समूह चरणबाट बाहिरिने सँघारमा रहेको नेपालले आइतबार समूह डीको खेलमा पाकिस्तानसँग वेस्ट जाभास्थित सहिद चन्द्रभागा रंगशालामा प्रतिस्पर्धा गर्नेछ । तर नेपालका लागि यो खेलमा इतिहास बनाउने अवसर छ । नेपालले एसियाडमा खेलेका कुनै पनि खेलमा अहिलेसम्म जित हात पार्न सकेको छैन । त्यसैले समान स्तरको टिम पाकिस्तानलाई हराएर इतिहास बनाउने नेपालको लक्ष्य रहेको प्रशिक्षक बालगोपाल महर्जनले बताए ।
नेपालको सुधारत्मक प्रर्दशन
नेपालले सुरुवाती खेलमा सन्तोषजनक खेल प्रदर्शन गर्दा खेललाई सुधारत्मक देखिएको छ। पहिलो खेलमा एसियन फुटबलको पावर हाउस जापानसँग १–० गोलको झिनो अन्तरले पराजित भएको थियो। भियतनामविरुद्धको दोस्रो खेलमा पनि नेपालले सुरुवातमा राम्रो खेलेको थियो। सुरुवातमा भियतनामलाई दबाबमा राखेपनि नेपाल २–० गोलले पराजित भयो। अर्काेतर्फ समूहमा पाकिस्तानले पनि दुवै खेल गुमाइसकेको छ। पाकिस्तानले २ खेलमा गरी ७ गो खाइसकेको छ। पाकिस्तानलाई भियतनामले ३–० र जापानले ४–० गोलले पराजित गरेको थियो।
नेपालले एसियाली खेलकुदमा खेलेका १७ खेलमा नै पराजय भोगेको छ। १७ खेलमा ६८ गोल खाँदा केवल १ गोल गर्न सकेको छ।








