काठमाडौं, नेपाली युवा स्पिनर सन्दिप लामिछानेले क्यारेवियन प्रिमियर लिग सीपीएलमा उत्कृष्ठ प्रदर्शन गर्दै शानदार डेब्यू गरेका छन् ।
सीपीएल टोली सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट उनले शुत्रबार सीपीएलमा डेब्यू गरेका हुन् । सन्दिपले सीपीएलका लागि पहिलो बलमै विकेट लिएर आफ्नो डेब्यू अविश्मरणीय बनाएका हुन् । समग्रमा सन्दिपले ४ ओभर बलिंग गरी २ विकेट लिन सफल भए ।
गुयानाको राष्ट्रिय रंगशालामा १४७ रनको लक्ष पछ्याएको गुयाना अमेजन वारियर्स्बिरुद्ध दोस्रो ओभर बलिंग गर्दै उनले सीपीएल डेब्यू गरेका थिए । पहिलो बलमै उनले शानदार लेगस्पिनको सदुपयोग गरी गुयाना वारियर्सका भेट्रान ओपनर चाडविक वाल्टनलाई मिडअनको क्षेत्रमा बेन कटिंगको हातबाट क्याच आउट गराए ।
आफ्नो पहिलो ओभरमा विकेटसहित ३ रन खर्चेका सन्दिप छैटौं ओभरमा बलिंग गर्दा विकेट लिन नसके पनि किफायती बलिंग गरे । उनले मात्र एक रन खर्चिएका थिए । पहिलो बलमै विकेट लिएपछि विपक्षी ब्याट्सम्यान उनीप्रति सजग देखिन्थे । आठौं ओभरमा आफ्नो तेस्रो स्पेल लिएर आएका सन्दिपले ५ रन खर्चिए । सन्दिपले दोस्रो विकेट भने आफ्नो अन्तिम ओभरमा लिए ।
१०औं ओभरको दोस्रो बलमा १६ रन बनाएर खेलिरहेका वेष्ट इण्डिजका ब्याट्सम्यान ज्यासन मोहम्मदलाई डीप कभरको क्षेत्रमा टम कूपरको हातबाट क्याच आउट गराए । त्यस ओभरमा उनले विकेटसहित ४ रन खर्चिए । लेग स्पिनर सन्दिप लामिछानेको यो तेस्रो अन्तराष्ट्रिय फ्रेन्चाइजी लिग हो । यसअघि उनले आईपीएलमा दिल्ली डेयरडेभिल्सबाट खेलिसकेका छन् भने क्यानडामा ग्लोवल टी–ट्वान्टी प्रतियोगिता खेलेका छन् ।
आईपीएलमा दिल्लीबाट उत्कृष्ट प्रदर्शन गरेका उनी त्यस लगत्तै विश्व–११ को टोलीमा समेत परेका थिए । सन्दिपले उत्कृष्ट प्रदर्शन गरेपनि उनको टिम सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स भने ६ विकेटले पराजित हुन पुग्यो ।
टस हारेर पहिले ब्याटिंग गरेको सेन्ट किट्सले निर्धारित ओभरमा ५ विकेट गुमाएर १४६ रन बनाउँदा ओपनर तथा कप्तान क्रिश गेल एक्लैले ८६ रनको योगदान दिएका थिए । उनले ६५ बलमा ७ चौका र ५ छक्का प्रहार गरे ।








