बायर्न म्युनिखका चिलियन मिडफिल्डर अर्टुरो भिडाल बार्सिलोना जाने पक्का भएको छ । यद्दपी दुई क्लबबीच कतिमा सम्झौता भएको भन्ने खुलाइएको छैन ।
उनले बार्सिलोनासँग तीन वर्षको सम्झौता गर्ने बताइएको छ । ३१ वर्षे भिडालले केहि दिनमा ला लिगा च्याम्पियन टोलीका लागि स्वास्थ्य परिक्षण गराउने बताइएको छ । उनी सन् २०१५ मा युभेन्ट्सबाट बार्यन पुगेका थिए ।
बायर्नमा उनले लगातार तीन सिजन बुन्डेस लिग उपाधि जितेका थिए । बार्साले सामाजिक सञ्जालमार्फत छिट्टै खेलाडीको आगमन र सार्वजनिक गर्ने विषयमा जानकारी दिने उल्लेख गरेको छ ।
बायर्नले पनि सामाजिक सञ्जालमार्फत भिडाल बार्सिलोना जान लागेको जनाएको छ । ‘क्लबमा पुर्याएको योगदानका लागि हामी भिडाललाई धन्यवाद दिन चाहन्छौ। र स्पेनमा उनको उज्जवल भविष्यको कामना गर्दछौं,’ सामाजिक सञ्जालमार्फत क्लबका प्रमुख कार्यकारी कार्ल हिन्ज रुमिनिजीले भनेका छन्, ‘उनी जहिले पनि महत्वपूर्ण र भरगर्न लायक खेलाडी रहे ।’
बार्यनमा तीन बर्षको दौरान एक जर्मन कप र दुई जर्मन सुपर कप जितेका भिडालले क्लबलाई धन्यवाद दिदै बार्सिलोनामा नयाँ चुनौतिका लागि आफु तयार रहेको बताएका छन् ।
२०११ मा बायर लिभरकुसेनबाट युभेन्ट्स पुगेका उनले चार बर्षमा चार पटक सिरी–ए जिताउन महत्वपुर्ण भुमिका खेलेका थिए । चिलीका लागि १ सय क्याप जितिसकेका भिडालले २०१५ को कोपा अमेरिका जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।








