जेष्ठ १७,२०८३ / ०७ : ५० अपरान्ह / 2026-05-31 07:50 pm
      • param ad
      • furniture
      • veera Incorporation

      एसियाली खेलकूदमा नेपालको सहभागिता,थपिए चार नयाँ खेल

      - ७ वर्ष अगाडि
      श्रावण २,२०७५

      काठमाडौ, एसियाली महादेशको सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा मानिएको १८ औँ एसियाली खेलकूदमा यसपटक नेपालबाट चार नयाँ खेलले स्थान पाएका छन् । 

      इण्डोनेसियाको राजधानी जार्कातामा आगामी भदौ २ गतेदेखि १७ गतेसम्म हुने एसियाली खेलकूदमा प्याराग्लाइडिङ, क्लाइमिङ स्पोर्ट, पेनकेक सिलात र स्केटबोर्ड गरी चार नयाँ खेल छनोटमा परेका छन् । यसपटकको एसियाली खेलकूदमा नेपालबाट अहिलेसम्मकै सबैभन्दा बढी २८ खेल समावेश हुँदैछ । 

      दक्षिण कोरियाको इचोन सहरमा भएको १७ औँ संस्करणको एसियाली खेलकूदमा नेपालबाट २५ खेलले प्रतिनिधित्व गरेको थियो । एसियाली राष्ट्रबीच सुमधुर सम्बन्ध बनाउने उद्देश्यका साथ स्थापित भएको एसियाली खेलकूद प्रतियोगिता सन् १९५१ बाट शुरुआत भयो । त्यतिबेला भारतको नयाँ दिल्लीमा पहिलो पटक प्रतियोगिताको आयोजना गरिएको थियो । नेपालले प्रतियोगिताको शुरुआतदेखि नै सहभागिता जनाउँदै आइरहेको छ । तर सन् १९५४ र १९६२ को दुई संस्करणको खेलमा भने नेपालले भाग लिएको थिएन । 

      नयाँ चारखेलसहित प्रतियोगितामा भारोत्तोलन, बक्सिङ, आर्चरी, शुटिङ, एथलेटिक्स, टेबलटेनिस, कराते, ब्याडमिन्टन, कबड्डी, साइक्लिङ, सेपाकताक्रो,भलिबल, ट्रायथलन, कुस्ती, फेन्सिङ्, फुटबल, गल्फ, जुडो, लनटेनिस, पौडी, तेक्वान्दो, उसु, कुराँस र बास्केटबल गरी २८ खेलले नेपालको प्रतिनिधित्व गर्नेछ । 

      प्रतियोगितामा पुरुष खेलाडी १२५ र महिला खेलाडी ५६ गरी १८१ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै ४५ जना प्रशिक्षक र २४ जना व्यवस्थापक सहभागी हुनेछन् । अफिसियल भने कति जाने भन्ने टुंगो लागिसकेको छैन । नेपालकातर्फबाट एसियाली खेलकूदमा जम्मा २९५ जनाको जम्बो टोली इण्डोनेसिया जाने अनुमान गरिएको छ । 

      भूकम्पका कारण क्षत विक्षत भएका भौतिक पूर्वधारहरुको समयमा निर्माण हुन नसक्दा खेलाडीले पर्याप्त तालीम लिन केही असहजता भयो । राष्ट्रिय टिम तयारी विभाग प्रमुख अर्जुन विकले विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त भौतिक पूर्वाधारको निर्माण कार्य सम्पन्न नहुँदा तालीमका लागि केही असहजता भएको बताए । 

      राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा यसपटक नयाँ खेललाई प्राथमिकतामा राखिएकोे जानकारी गराउँदै उहाँले भन्नुभयोे, “काठमाडौँमा नभए तापनि देशका विभिन्न ठाउँमा खेलाडीलाई पर्याप्त तालीम दिएका छौँ ।” 

      उहाँले प्रतियोगिताको तयारीका लागि केही बजेट अपुग भएकै कारणले खेलाडीलाई समयमै तालीम दिन नसकेको बताए । सरकारले एसियाली खेलकूद प्रतियोगिताका लागि रु पाँच करोड बजेट छुट्याइएको छ । विभिन्न ४५ वटा एसियाका उत्कृष्ट राष्ट्रका खेलाडीबीच हुने उक्त प्रतियोगितामा पदक जित्नु नेपाली खेलाडीका लागि जहिले पनि फलामको च्युरा बन्दै आएको इतिहास छ । 

      सहभागिताको ६७ वर्ष बितिसक्दा पनि नेपालले एसियाली खेलकूदमा अहिलेसम्म स्वर्णपदक जित्न सकेको छैन । गत संस्करणको खेलमा नेपालले एउटा मात्र पदक जितेको थियो । त्यतिबेला राखेप मान्यता प्राप्त कराते महासंघले छनोट गरेको खेलाडीको सट्टामा अन्तराष्ट्रिय मान्यता प्राप्त कराते महसंघको छनोटमा परेकी विमला तामाङले महिला कराते एकल कातामा कास्य पदक हात पार्नुभएको थियो । नेपालको उक्त प्रतियोगितामा जितेको सोही एक पदक मात्र हो । त्यतिबेला कास्य पदक जित्ने देश पनि नेपाल मात्र थियो । 

      नेपालले अहिलेसम्म जम्मा तीन खेल तेक्वान्दो, कराते र बक्सिङले मात्र पदक जितेको इतिहास छ । एसियाली खेलकूदमा सबैभन्दा ठूलो पदक तेक्वान्दोका सविता राजभण्डारीले जित्नुभएको थियो । उहाँले सन् १९९८ को थाइल्याण्डको बैंककमा भएको एसियाली खेलकूदमा रजत पदक जित्नुभएको हो । त्यो नै नेपालको हालसम्म एक मात्र रजत पदक हो । 

      एसियन गेम्समा नेपालले अहिलेसम्म २३ वटा पदक जितेको छ । जसमा रजत भने एक मात्र छ । विगतमा जस्तै यसपटक पनि तेक्वान्दो, जुडो, बक्सिङ, उसु भारोत्तलन मार्सलआर्टसका खेलमा बढी पदकको आशा गरिएको राखेपअन्तर्गत तालीम तथा प्रशिक्षण विभागका प्रमुख रिमबहादुर राणाभाटले बताए । यसपटकको तयारी व्यापक छ, खेलाडीले पदक भित्र्याउने कुरामा हामी विश्वस्त छौँ प्रशिक्षण विभाग प्रमुख राणाभाट भन्नुहुन्छ । उहाँका अनुसार यसपटक समावेश गरिएको नयाँ खेल प्याराग्लाइडिङले पनि पदक जित्ने सम्भावना प्रवल रहेको छ । 

      तालीम तथा प्रशिक्षण विभागका प्रमुख राणाभाटले प्रतियोगिताका लागि रु सात करोड १३ लाख बजेट आवश्यकता भए तापनि सरकारले छुट्याएको रकम कम भएको गुनासो गरे । गत वैशाख २ गतेदेखि शुरु भएको बन्द प्रशिक्षणमा नेपाली खेलाडी स्वदेश तथा विदेशमा प्रशिक्षण गरिरहेका छन् । नेपालको विराटनगर, महेन्द्रनगर, नेपालगञ्ज, काठमाडौँ, पोखरालगायतका ठाउँमा नियमित प्रशिक्षणमा छन् भने विदेशमा दक्षिण कोरिया, थाइल्याण्ड र चीनमा खेलाडी गइसकेका छन् । 

      त्यस्तै जापान र भारतमा जाने तयारीमा छन् । 

        सम्बन्धित समाचारहरु