काठमाडौं, चर्चित नेपाली क्रिकेटर सन्दिप लामिछाने क्यानेडियन लिगमा पनि खेल्ने भएका छन् ।
इण्डियन प्रिमियर लिग आईपीएलमा राम्रो प्रदर्शन, क्यारेवियन प्रिमियर लिग सीपीएलमा अनुबन्ध, विश्व ११ बाट अन्तराष्ट्रिय ट्वेण्टी ट्वेण्टी क्रिकेटमा डेब्युलगायत लगातार खुशीका खबर दिइरहेका नेपाली क्रिकेटर सन्दीप लामिछाने क्यानेडियन लिगमा अनुबन्ध भएका हुन् । लेग स्पिनर सन्दीपलाई क्यानेडियन लिगका लागि मोन्ट्रेल टाइगर्स क्लबले अनुबन्ध गरेको हो । यससँगै उनले पुनः एकपटक विश्व क्रिकेटमा आफू उदाउँदो खेलाडी रहेको सन्देश फेरि एकपटक दिएका छन् ।
ऐतिहासिक लर्डस मैदानमा विश्व ११ का तर्फबाट खेले लगत्तै सन्दीप क्यानेडियन लिगमा अनुबन्ध भएका हुन् । यद्यपी अनुबन्धित क्लवले भने उनले कति पारीश्रमिक पाउने भन्ने वारे खुलाएका छैनन् । तर प्रतियोगिताका लागि बोलकबोलमा खेलाडी कुन चरणमा क्लबले लियो भन्ने आधारमा पारिश्रमिक तय हुने ब्यवस्था छ । सीनदप भने छैटौ चरणमा अनुबन्ध हुने खेलाडी हुन् । छैटौ चरणमा अनुबन्ध हुने खेलाडीले ४० हजार डलर पाउने व्यवस्था छ ।
सन्दीपलाई अनुबन्धित गरेको क्लबमा मोन्ट्रेल टाइगर्सको मार्की खेलाडी विश्वप्रसिद्ध श्रीलंकाली भेट्रान बलर लसिथ मालिंगा रहेका छन् । त्यसै गरी एक समय विश्व क्रिकेटमा नम्बर एक स्पिनर रहेका वेष्ट इण्डिजका सुनील नराइन, श्रीलंकाका पुर्व कप्तान थिसरा परेरा, वेष्टइण्डिजका विकेटकिपर ब्याट्स्म्यान दिनेश रामदिन, पाकिस्तानको ट्वेण्टी ट्वेण्टी टिमका कप्तान ब्याट्स्म्यान मोहम्मद हाफिज, जिम्बाबेका ब्याट्स्म्यान सिकन्दर राजालगायत प्रशिद्ध खेलाडीहरु रहेका छन् । अव हुने प्रतियोगितामा जम्मा ६ वटा टीम सहभागी छन् ।
जसमा राष्ट्रिय र अन्तराष्ट्रिय उत्कृष्ट खेलाडीहरुलाई मौका दिइएको छ । क्यानडाका शहरहरुको नामबाट बनाइएका क्लबमा टोरोण्टो नेशनल्स, भ्याङ्कुभर नाईट्स, मोण्ट्रेल टाइगर्स, एडमोण्टो रोयल्स र विनिपेग ह्वक्स रहेका छन् । वेष्टइण्डिजको बी टीमले पनि प्रतियोगितामा सहभागिता जनाउनेछ ।








