काठमाण्डौ । विश्वकपको उपाधि दावेदार जर्मनी मैत्रीपूर्ण खेलमा पराजित भएको छ । अभ्यास खेलमा जर्मनीलाई अस्ट्रियाले २–१ ले हराएको हो ।
खेलमा शुरुमा अग्रता भने जर्मनीले लिएको थियो । ११ औं मिनेटमा ओजिलको गोलबाट जर्मनीले लिएको अग्रता दोस्रो हाफमा टिक्न सकेन ।
५३ औं मिनेटमा अस्ट्रियाका मार्टिनले बराबरी गोल फर्काए । अस्ट्रिया यत्तिकैमा रोकिएन । उसले ६९ औं मिनेटमा अर्को गोल पनि थप्यो ।
दोस्रो गोल अस्ट्रियाका लागि एलेसान्ड्रोले गरेका हुन् । त्यसपछि विश्व विजेता जर्मनी खेलमा फर्किन सकेन र २–१ को हार व्यहोर्न बाध्य भयो ।
जर्मनी विश्वकपको चार वर्ष अघिको विजेता हो । उ सन् २०१८ मा हुन लागेको विश्वकपमा समूह एफमा छ । यो समूहमा दक्षिण कोरिया, स्वीडेन र मेक्सिको पनि छन् ।
त्यस्तै बेल्जियम र पोर्चुगलले गोलरहित बराबरी खेलेका छन्। दुबै टोलीले पाएका केही मौका सदुपयोग गर्न नसक्दा बराबरीमा चित्त बुझाए। यो खेलमा पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो भने खेलेका थिएनन्।
यसैगरी अन्य खेलहरूमा आयरल्याण्डले अमेरिकालाई २–१, नर्वेले आईसल्याण्डलाई ३–२, चीनले थाईल्याण्डलाई २–०, केन्याले न्युजिल्याण्डलाई २–१, लात्भियाले ईस्टोनियालाई १–०, स्लोभेनियाले मोन्टेनेग्रोलाई २–० ले पराजित गर्दा डेनमार्क र स्विडेनले भने गोलरहित बराबरी खेलेका छन्।
रुसमा आयोजना हुने विश्वकप फुटबल सुरु हुन अब ११ दिन बाँकी छ ।








