काठमाडौं, भियतनाममा जारी चौथो एसियन पारा तेक्वान्दो ओपन च्याम्पियनसिप अन्तर्गत ५८ केजी माथि तौल समुहमा नेपाली खेलाडीले कास्य पदक जितेकी हुन् ।
नेपाल तेक्वान्दो संघका सचिव दीपक विष्टका अनुसार पलेसाले पहिलो खेलमा टर्कीकी नुरचिहान इक्निचीलाई ९–० स्कोरले हराउँदै सेमिफाइनलमा पुगेकी थिइन् । सेमिफाइनल पुग्ने वित्तिकै कम्तीमा कास्य पदक पक्का हुने भएपनि पलेसा त्यहाँबाट भने अघि बढ्न सकिनन् । बिहीबार भएको प्रतिस्पर्धामा पलेसा सेमिफाइनलमा उज्वेकिस्तानकी गुलजोनोयो नेएमोभोसँग ९–४ ले पराजित भइन् ।
प्रतियोगितामा सहभागी अन्य तीन खेलाडीहरु सीता भण्डारी ५८ केजी मुनि तथा पुरुषतर्फ रामबहादुर अधिकारी र गोविन्द थापा पहिलो खेलवाट नै वाहीरीएको थियो । पारा तेक्वान्दोमा यसअघि यादव कुवर, सीता र रञ्जना धामीले पनि नेपाललाई अन्तराष्ट्रिय पदक दिलाएका थिए ।
पलेसालाई पराजित गर्ने नेएमोभाले उक्त तौल समूहमा स्वर्ण पदक जितेकी छन् । तेक्वान्दो संघको पारा कमिटीका समेत सचिव रहेका विष्टका अनुसार प्रतियोगितामा एसिया, युरोप, अमेरिका लगायतका खेलाडीहरुको सहभागिता थियो । प्रतियोगिता विश्व तेक्वान्दो महासंघ र एसियाली तेक्वान्दो युनियनका मान्यता प्राप्त यार्किङ च्याम्पियनसिप हो ।








