काठमाडौं, रुसमा हुने फिफा विश्वकप २०१८ सुरु हुन अब मात्र २३ दिन बाँकी रहेकोछ । ३२ राष्ट्र सम्मिलित प्रतियोगितामा सहभागी टोलीहरुलाई ८ समूहमा विभाजन गरिएको छ ।
प्रत्येक समूहमा चार टोली छन् र समूह चरणका खेल पश्चात शीर्ष २ टोली राउन्ड अफ १६ मा प्रवेश गर्नेछ । १४ जुनबाट सुरु हुने प्रतियोगितामा कुल ६४ खेल खेलिनेछ । प्रतियोगिताका खेल संचालन गर्न ११ सहरका १२ रंगशाला प्रयोग गरिनेछ । प्रतियोगितामा सहभागी ३२ मध्ये २० टोलीले यसअघिको संस्करणमा पनि सहभागिता जनाएका थिए ।
यसपटक विश्वकपमा दुई टोलीले पहिलो पटक सहभागिता जनाउँदै छ । आइसल्याण्ड र पानामाको यो पहिलो विश्वकप यात्रा हो । प्रतियोगिताको फाइनल खेल जुलाई १५ तारिखमा मस्कोको लुझिन्की रंगशालामा हुनेछ । विश्वकप विजेताले सन् २०२१ मा हुने फिफा कन्फेडेरेसन कपमा सहभागिता जनाउनेछ ।
प्रतियोगितामा खेल संचालन गराउन फिफाले ३६ रेफ्री र ६३ सहायक रेफ्रीको सुची पनि सार्वजनिक गरिसकेको छ । यसपटक विश्वकपमा भिडियो असिस्टेन्ट रेफ्री (भार) को पनि प्रयोग हुनेछ । भारको लागि विशेष रेफ्रीका रुपमा १३ भार रेफ्रीलाई पनि नियुक्त गरिएको छ । प्रतियोगिताको आधिकारिक बल एडिडासले उत्पादन गर्नेछ ।
यसपटक एडिडासले सन् १९७० को विश्वकपलाई आधार मानेर तेल्स्टार १८ नामक बल प्रयोग गर्नेछ । यसबाहेक विश्वकपको मास्कोटको रुपमा जाबिभाका पनि सार्वजनिक गरिएको छ ।
विश्वकपका लागि रसियाली सरकारले १० बिलियन डलर बराबरको बजेट तोकेको छ । त्यसमध्ये आधा बजेट खेल पूर्वाधारको विकासमा खर्चिएको छ ।








