काठमाडौं, इन्डियन प्रिमियर लिग (आइपिएलमा) मुम्बइविरुद्ध देल्लीले जित हात पारेको छ।
आइतबार देल्लीमा भएको खेलमा प्रतियोगिताबाट बाहिरिइसकेको देल्लीले मुम्बइलाई हार चखाएको हो। हारसँगै मुम्बइको प्लेअफमा जाने यात्रा लगभग टुङिएको छ । देल्लीको जितमा भारतीय बलर अमित मिश्राले चार र नेपाली बलर सन्दीप लामिछानेले महत्वपूर्ण तीन विकेट हात पारेका छन्।
ओपेनिङ बलिङको मौका पाएका सन्दीपले आइपिएलमा राम्रा भारतीय ब्याटम्यान सूर्यकुमार यादवलाई पहिलो ओभरको चौथो बलमै पवेलियन जान बाध्य बनाए । त्यसपछि दशौं ओभरमा आएका सन्दीपले अनुभवी खेलाडी किरण पोलार्ड र कुनल पाण्डेलाई आउट गरे।
सन्दीपले आउट गरेका तीनै जना खेलाडीको आइपिएल प्रदर्शन राम्रो छ। देल्लीले सुरुमा ब्याटिङ गरेर मुम्बइलाई १७५ रनको चुनौती दिएको थियो। तर मुम्बइले २०औं ओभरको तेस्रो बलमा अलआउट हुँदै जम्मा १६३ रनमा बनाएर ११ रनको हार ब्यहोरेको हो।
मुम्बइको हारसँगै प्लेअफमा पुग्ने संभावनामा राजस्थान र पञ्जाव मात्र रहेका छन्। त्यसको नतिजा आइतबार रातिको चेन्नइ र पञ्जावबीचको खेलले गर्नेछ। त्यो खेलमा चेन्नइ विजयी भएमा राजस्थान प्लेअफमा प्रवेश गर्नेछ।
१४ वटै खेल खेलिसकेको राजस्थानको १४ अंक छ भने अन्तिम खेल खेल्दैगरेको पञ्जावको १२ अंक छ। यो खेलमा पञ्जावले राजस्थानलाई हराएमा निर्णय रनरेटका आधारमा हुनेछ।
यसअघिका खेलमा पञ्जावको तुलनामा राजस्थानको रनरेट राम्रो भएकोले प्रतियोगितामा रहिरहन चेन्नइविरुद्ध पञ्जावले शानदार जित निकाल्न आवश्यक छ।