काठमाडौं, इण्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादले दिल्ली डेयरडेभिल्सलाई ९ विकेटले हराएको छ । यस जितका साथ हैदरावादले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । तर, दिल्ली भने प्लेअफबाट बाहिरिएको छ ।टस जितेर पहिले व्याटिङ गरेको दिल्लीले रिसभ पन्तको शतकको मद्दतमा १८७ रनको योगफल तयार पारेको थियो ।
रिसभले ६३ बलमा १५ चौका र ७ छक्काको मद्दतमा १२८ रन बनाएका थिए । तर हार टार्न सकेनन् । १८८ रनको विजय लक्ष्य पछ्याएको हैदरावादले १८ ओभर ५ बलमा १ विकेटको क्षतिमा १९१ रन बनाएर जित हासिल गर्यो ।हैदरावादका शिखर धवन ९२ र केन विलियम्सन ८३ रनमा नटआउट रहे ।
हैदरावादले १५ रन बनाउँदा पहिलो विकेट एलेक्स हेल्स आउट भए । उनलाई व्यक्तिगत १४ रनमा हर्षल पटेलले आउट गरे । त्यसपछि कप्तान केन विलियम्सन र शिखर धवनले १७६ रनको साझेदारी गरे । धवन प्लेयर अफ दि म्याच भए । यसअघि फिरोज शाहा कोटाला मैदानमा पहिले व्याटिङ रोजेको दिल्लीका ओपनर चल्न सकेनन् ।
पृथ्वी शा ९ र जेसन राय ११ रनमा आउट भए । उनीहरु दुवैलाई शाकिब अल हसनले पेभिलियनको बाटो देखाए । चौथो ओभरमा २१ को स्कोरमा शाकिबले पाँचौं र छैठौं बलमा दुबैलाई आउट गरे । कप्तान श्रेयस ऐयर ३ रन र हर्षल पटेल २४ रनमा आउट भए ।बलिङतर्फ भुवनेश्वर कुमारले एक विकेट लिए ।








