
२६ फागुन, काठमाडौं । पारस खड्काको कप्तानीका पारीका बाबजुद विश्वकप छनोटमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ ।
नेपालले दिएको १९५ रनको लक्ष्य अफगानिस्तानले मात्र ३८.४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।
उसको सुरुवात औषत रहृयो । रसिद खान र जाभेद अहमदीले पहिलो विकेटका लागि २८ रनको साझेदारी गरे । खानलाई छैटौं ओभरको दोस्रो बलमा करण केसीले आउट गरे ।
तर, नयाँ ब्याट्सम्यान राहमत साहले दोस्रो विकेटका लागि अहमदीसँग ६५ रनको सझेदारी गरे । अहमदी २६ रनमा आउट भए । थप १८ रन जोड्दा साह ४६ रन बनाएर पभेलियन फर्किए ।
मोहम्मद नाबी र नजिबुल्लाह जादरानले अफगानिस्ताको पारी सम्हाले । दुबैले ३९ रनको महत्वपूर्ण पार्टरसिप गरे । नाबीलाई दिपेन्द्र सिंह ऐरीले ३४ रनमा आउट गरे तर, त्यसबेलासम्म खेल अफगानिस्तानको पक्षमा गइसकेको थियो ।
नाबी आउट भएपछि जादरानले आक्रामक पारी खेल्दै अर्धशतक पुरा गर्दै टिमलाई जित दिलाए । उनी ५२ रनमा अविजित रहे भने नेसवारी ८ रनमा नटआउट रहे ।
नेपालका दिपेन्द्रले २ विकेट लिँदा करण केसी र सन्दिप लामिछानेले १-१ विकेट लिएका छन् ।
पारसको कप्तानी इनिङ

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले मात्र १३ रन जोड्दा ओपनर अनिलकुमार साहलाई गुमाएको थियो । उनी दिलिप नाथको ठाउँमा आएका थिए ।
तर, कप्तान पारसले उपकप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर दोस्रो विकेटका लागि ९८ रनको महत्वपूर्ण साझेदारी गरे ।
२६ औं ओभरको अन्तिम बलमा रसिद खानले ज्ञानेन्द्रलाई एलबीडब्लू धरापमा पारे ।
त्यसपछि अफगान बलर हावी भए । थप ६ रन जोड्दा कप्तान पारस खड्का आउट भए । आक्रामक पारी खेलेका उनी ७५ रनमा पभेलियन फर्किएका हुन् ।
त्यसपछि नेपालले ठूलो पारी खेल्न सकेनन् । दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले प्रयास गरेका थिए तर, सकेनन् । ऐरी ३२ र शेख २३ रनमा आउट भए ।
उपकप्तान ज्ञानेन्द्रले २३ रन बनाए । अरु ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् ।
अफगानिस्तानका नाबीले ४ विकेट लिए भने रसिद खानले ३ विकेट आफ्नो नाममा लेखाए ।
सुपर सिक्सको सम्भावना अझै छ ?
अर्को खेलमा हङकङ जिम्बाब्वेसँग हार नजिक छ । यदि यो खेल जिम्बाब्वले जित्यो भने सुपर सिक्समा पुग्ने तेस्रो टोलीको टुंगो नेपाल र हङकङबीचको खेलबाट लाग्नेछ ।
हङकङ र अफगानिस्तानको समान २/२ अंक छ । तर, अफगानिस्तानले समूह चरणका सबै खेल खेलिसकेको छ । अब नेपालले हङकङलाई हरायो भने तीन वटै टोलीको समान २-२ अंक हुनेछ र रन रेटका आधारमा अघिल्लो चरा पुग्ने टोली तय हुनेछ ।
तर, सुपर सिक्समा स्थान बनाउन नेपालले अन्तिम खेलमा हङकङलाई ठूलो अन्तरले हराउनुपर्छ । नेपाल हार्यो भने हङकङ ४ अंकका साथ सुपर सिक्समा पुग्नेछ ।








