काठमाडौं, दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोज आमनेसामने हुने भएका छन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुने यो खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ ।
लुम्बिनी लायन्सको कप्तानी राष्ट्रिय टोलीका कप्तान समेत रहेका रोहितकुमार पौडेलले सम्हाल्नेछन् भने चितवन राइनोजको नेतृत्व युवा स्टार कुशल मल्लले गर्दैछन् । पहिलो खेलमा कर्णाली याक्सलाई हराउँदै दुई अंक जोडिसकेको चितवन उच्च उत्साहका साथ मैदान उत्रिँदैछ । त्यस्तै, पहिलो खेलमै प्रभावकारी प्रदर्शन गर्ने लक्ष्यसहित लुम्बिनी पनि तयार रहेको छ ।
पहिलो संस्करणमा मात्र एक खेल जितेको लुम्बिनीले यसपटक प्रतियोगिताको उत्कृष्ट सुरुआत गर्ने लक्ष्य बनाएको छ । यस सिजनका लागि लुम्बिनीले अस्ट्रेलियाका ब्याट्सम्यान डार्सी सट र अफगान अलराउन्डर गुलबदिन नइबलाई अनुबन्ध गरेको छ। अन्य विदेशी खेलाडीमा थोमस ड्राका, नामिबियाका जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान रहेका छन् ।
अहिलेसम्म काठमाडौं, चितवन, विराटनगर र सुदूरपश्चिमले समान दुई–दुई अंक जोडिसकेका छन् । आठ फ्रेन्चाइज टिम सहभागी एनपीएलमा जनकपुर बोल्टस्, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स प्रतिस्पर्धामा छन् ।








