काठमाडौं, दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज काठमाण्डौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्ने छन् ।
उद्घाटन खेलमै साविक विजेता जनकपुरलाई पाँच विकेटले पराजित गर्दै लिगको उत्कृष्ट सुरुवात गरेको काठमाडौं गोर्खाज उच्च आत्मविश्वासका साथ दोस्रो भिडन्तमा उत्रिन लागेको छ । साविक उपविजेता सुदूरपश्चिमसँगको आजको खेल काठमाण्डौंको लागि महत्वपूर्ण छ । यता सुदूरपश्चिमले पनि विजयी यात्रालाई निरन्तरता दिने लक्ष्यसहित अंक थप्न मैदानमा उत्रनेछ ।
त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुने खेलमा काठमाण्डौंको कप्तानी करण केसीले सम्हालेका छन् भने सुदूरपश्चिमलाई अलराउन्डर दीपेन्द्रसिंह ऐरीले नेतृत्व गर्नेछन् ।
जनकपुरलाई हराउँदै दुई अंक जोडिसकेको काठमाडौं आज फेरि उत्साहजनक खेल प्रदर्शन गर्ने मनस्थितिमा छ ।
एनपीएलको पहिलो संस्करणका उपविजेता रहिसकेको सुदूरपश्चिमले गत सिजनमा भित्र्याएका न्यूजिल्यान्डका अलराउन्डर स्कट कुगेइलिन र अमेरिकन खेलाडी हर्मित सिंहलाई यसपालि पनि टोलीमा निरन्तरता दिएको छ ।
एनपीएलमा जनकपुर बोल्टस्, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डौं गोर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।








