काठमाडौं, नेपाली क्रिकेटप्रेमीका लागि आजको दिन निकै महत्वपूर्ण बनेको छ। आजदेखि नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजन काठमाडौंमा सुरु हुँदैछ । दोस्रो सिजनको खेलहरु काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा मङ्सिर २७ गतेसम्म सञ्चालन हुनेछ।
आजको उद्घाटन खेलमा पूर्व विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज आमनेसामने हुँदैछन्। यो खेल आज दिउँसो ४ बजेबाट सुरु हुनेछ । पहिलो खेलका लागि सम्पूर्ण टिकट बिक्री समेत भइसकेको छ ।
यस सिजनमा पनि कुल आठ फ्रेन्चाइजी टोलीले प्रतिस्पर्धा गर्नेछन्ः विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गोर्खाज्, लुम्बिनी लायन्स, पोखरा एभेञ्जर्स, सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स । खेल तालिकाअनुसार कुल ३२ खेल हुनेछ, जसमा २८ लिग चरण तथा ४ नक्कआउट खेलहरू र फाइनल खेल समावेश छन् ।
यसपटक फ्लडलाइट जडान गरि दिन र रातमा खेल (डे–नाइट) को व्यवस्था गरिएको छ । सफल र रोमाञ्चक टुर्नामेन्टका लागि सबै टोली, खेलाडी तथा दर्शकलाई शुभकामना!








