काठमाडौं, नेपाली एमएमए फाइटर रविन्द्र धन्तले भारतको चुङग्रेंग कोरेनलाई पराजित गर्दै Matrix Fight Night 17 (MFN 17) को ब्यान्टमवेट च्याम्पियनको उपाधि जितेका छन्। यस ऐतिहासिक जितसँगै उनी एमएफएनको उपाधि जित्ने पहिलो नेपाली फाइटर बनेका छन्।
“द इन्डियन राइनो“ उपनामले चिनिने कोरेन प्रारम्भिक चरणदेखि नै आक्रामक रणनीतिमा थिए। बलियो रेसलिङ र पावरका लागि परिचित कोरेनलाई धन्तले शान्त, धैर्य र रणनीतिक ढंगले सामना गरे। फाइटको तेस्रो राउण्डमा धन्तले तीव्र गतीमा पन्च प्रहार गर्न थालेपछि कोरेन दबाबमा परे।
अन्ततः निर्णायक पन्चहरुको श्रृंखलापछि रेफ्रीले फाइट रोके र धन्तलाई TKO (Technical Knockout) मार्फत विजेता घोषणा गरियो। यो जितसँगै धन्तको प्रोफेसनल रेकर्ड ८–१ मा पुग्यो भने कोरेनको लगातार ५ जितको यात्रा टुंगियो।
जितपछि धन्त जब रिङको माथि नेपाली झण्डा फहराउँदै उभिए, सम्पूर्ण मञ्च नेपाली गौरव र आत्मविश्वासले भरिएको थियो। यो केवल खेल मात्र होइन, नेपाली खेलक्षेत्रको लागि एक प्रेरणादायक उपलब्धि हो।
विन्द्रको जितले देखाएको छ—सपना पनि जितिन्छ, जब आत्मबल र परिश्रम एकसाथ लड्छन्।








