एसीसी यू–१९ महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगितामा नेपाली टोलीले विजयी सुरुवात गरेको छ । मलेसियामा जारी उक्त प्रतियोगिताको सोमबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी पाकिस्तानलाई ६ विकेटले हराएको हो ।
टस जिती ब्याटिङको निर्णय लिएको पाकिस्तानले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय चार रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १९ ओभरमा केवल चार विकेट गुमाएर विजयलक्ष्य पुरा ग¥यो । नेपालको जितमा कप्तान पूजा महतोले अविजित ४७ रनको योगदान गरिन् । बलिङमा पनि उनले दुई विकेट लिइन् ।
पाकिस्तानका लागि ओपनर कोमल खानले सर्वाधिक ३८ रन र महम अनिसले २९ रन बनाइन् । नेपालकी पूजा महतोले ४ ओभरमा २७ रन खर्चेर दुई विकेट लिइन् । पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भइसकेको थियो । नेपाल सुपर फोरमा समेत प्रवेश गरेको छ ।








