काठमाडौं । कप्तान रोहित पौडेलले ब्याट र बलमा उत्कृष्ट प्रदर्शन गरेपछि लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ । रोहितकोे अलराउन्ड प्रदर्शनको मद्दतले लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले हराएको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३४ रन मात्र बनाउन सक्यो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले अलराउन्ड प्रदर्शन गर्दै चितवनको इनिङ्स ध्वस्त पार्न ४ विकेट लिए । उनले ब्याटिङमा ८० रन बनाए भने बलिङमा ४ विकेट लिएका हुन् । प्रतियोगितामा उनको विकेट सङ्ख्या ७ पुगेको छ । पहिलो जितपछि लुम्बिनीले पाँचौ खेलमा अंक खाता खोलेको छ ।
चितवनका लागि लुक बेनकेन्सटाइनले सर्वाधिक ३१ रनको योगदान दिए । उनले २९ बलमा ३ चौका र एक छक्का प्रहार गरे । त्यस्तै, कुशल मल्लले २० रन जोडे । १७ बलमा उनले १ चौका र १ छक्का प्रहार गरे । रवि बोपारा १६ रनमा १२ रन जोड्दै आउट भए भने ओपनर सन्तोष कार्कीले १० रन जोडे । खेलमा चितवन सुरुवातदेखि नै दबाबमा परेको थियो ।
खेलको अन्त्यतिर नरबहादुर सार्कीले १२ बलमा २२ रन तथा रिजन ढकालले १४ बलमा १५ रन जोडे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६७ रन बनाएको थियो । कप्तान पौडेलले टोलीका लागि अर्धशतकीय पारी खेल्दै सर्वाधिक ८० रनको योगदान दिए । ५७ बलको इनिङ्समा रोहितले ६ चौका र ५ छक्का प्रहार गरे ।
उनको यो दोस्रो अर्धशतक हो । रोहितले यसअघि पोखरा एभेन्जर्सको विरुद्धमा ९५ रन बनाएका थिए । जारी प्रतियोगितामा रोहित सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् । उनले पाँच खेलमा २ सय ६१ रन बनाएका छन् ।
खेलमा लुम्बिनीको सुरुवात भने राम्रो हुन सकेन । रिजन ढकालले घातक बलिङ गर्दा टोलीले दोस्रो ओभरमा १ रनको स्थितिमा दुई विकेट गुमाएको थियो ।
लुम्बिनीले प्रतियोगितामा हात पारेको यो पहिलो जित हो । ५ खेलमा टोली यसअघि ४ खेलमा पराजित भएको थियो । टोलीले दुई अङ्क बटुलेको छ । उता, चितवनले ५ खेलमध्ये ३ खेलमा जित र २ खेलमा हार बेहोरेको छ । टोलीले ६ अङ्क बटुलेको छ ।