मंसिर २६,२०८१ / ०९ : ३७ अपरान्ह / 2024-12-11 09:37 pm
      • param ad
      • furniture
      • veera Incorporation

      एनपीएलको प्रत्यक्ष प्रसारण उल्झनमा, स्पोर्ट्ससँग गरेको सम्झौतालाई लिएर विवादको सिर्जना

      - २ हप्ता अगाडि
      मंसिर ६,२०८१

      काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारणका लागि भारतीय टिभी च्यानल स्टार स्पोर्ट्ससँग गरेको सम्झौतालाई लिएर गम्भीर विवादको सिर्जना भएको छ ।

      क्लीन फिड सम्बन्धी कानून उल्लंघन गर्दै स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण गराउन लागिएकोमा सरोकारवालाहरूले आपत्ति जनाएका छन् ।

      स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रशारण हुने भनिएपछि विज्ञापनदाताहरू आकर्षित भएका हुन् । तर नेपालमा स्टार स्पोर्ट्स विज्ञापनसहित प्रशारण हुन सक्दैन । विदेशी टिभी च्यानलहरू विज्ञापनरहित मात्रै प्रशारण हुनुपर्ने प्रावधानसहित २०७७ देखि क्लीन फिडसम्बन्धी कानून कार्यान्वयनमा आएको थियो । जस अनुसार अहिले नेपालमा विदेशी च्यानलहरू क्लीन फिडमा प्रशारण हुँदै आएका छन् । तर, यो कानूनविपरित स्टार स्पोर्ट्समा विज्ञापन बजाउने लोभ क्यानले विज्ञापनदाताहरूलाई देखाएको हो ।

      यसैबीच, मिडिया सोसाइटी र विज्ञापन सम्वन्धी संघसंस्थाहरुले नेपाल खेलकुद परिषद, विज्ञापन बोर्ड, क्यान लगायत निकायमा सम्झौताविरुद्ध उजुरी दिने तयारी गरेका छन् ।

      क्यानले गत शुक्रवार पत्रकार सम्मेलन गर्दै स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारणका लागि सम्झौता भएको जानकारी दिएको थियो । त्यस लगत्तै सञ्चार र विज्ञापन क्षेत्रका तीन संस्थाहरूले साझा प्रेस विज्ञप्ति जारी गरेर उक्त सम्झौताप्रति आपत्ति जनाएका छन् । सम्झौता अवैधानिक रहेको उनीहरूको ठहर छ । साथै, विज्ञापन क्षेत्रको नियमनकारी निकाय विज्ञापन बोर्डले पनि यसप्रति ध्यानाकर्षण व्यक्त गरेको छ ।

      क्यानले स्टार स्पोर्ट्ससँग भएको सम्झौता पारदर्शीरुपमा सार्वजनिक गरेको छैन । क्यान सचिव पारस खड्काले स्टार स्पोर्ट्सलाई पैसा तिरेर प्रशारण अधिकार दिइएको स्वीकारोक्ति गरे पनि कति रकम भन्ने खुलाएका छैनन् । सम्झौताका सर्तहरू पनि गोप्य राखिएको छ ।

      बुझिए अनुसार स्टार स्पोर्ट्समा नेपाली विज्ञापन बजाउने गरी सम्झौता भएको हो । क्यानले स्टार स्पोर्टसमा विज्ञापन बज्ने आश्वासन दिएर एनपीएलका लागि ठूला प्रायोजकहरू खोजेको थियो । एनपीएलको टाइटल प्रायोजन पाँच वर्षको लागि सिद्धार्थ बैंकले गरेको छ । यो कति रकमको प्रायोजन हो भन्ने क्यानले बताएको छैन । 

        सम्बन्धित समाचारहरु