काठमाडौं, स्पेन तथा म्यानचेष्टर सिटीका मिडफिल्डर रोड्रीले बालोन डी’ ओर अवार्ड जितेका छन् । महिलातर्फ स्पेन तथा बार्सिलोनाका मिडफिल्डर आइटिनो मोनमाटीले जितेकी छिन् ।
सोमबार राति फ्रान्सको पेरिसमा भएको समारोहमा रोड्रीले वर्षको उत्कृष्ट खेलाडी घोषित हुँदै उक्त प्रतिष्ठित अवार्ड जितेका हुन् । २८ वर्षीय रोड्रीले गत सिजन सिटीका लागि प्रिमियर लिग यूईएफए सुपर र क्लब विश्वकप साथै स्पेनको राष्ट्रिय टोलीबाट युरोकप जितेका थिए ।
सिटीका खेलाडीले बालोन डी’ओर अवार्ड जितेको यो पहिलोपटक हो । उनले रियल मड्रिडका भिनिसियस जुनियर र जुड बेलिङघहम अनि आफ्नै टिममेट एर्लिङ हालान्डलाई पछि पारे । भिनिसियस दोस्रो र बेलिङघहम तेस्रो स्थानमा रहे । महिलातर्फकि मोनमाटीले गत सिजन बार्सिलोनाका लागि लालिगा, च्याम्पियन्स लिग, सुपर कोपा तथा कोपा डे ला रेइना उपाधि जितेकी थिइन् ।
फेब्रुअरीमा स्पेनले नेसन्स कप उपाधि जित्दा ४ गोल गरेकी उनले फ्रान्ससँग २–० को जित हात पारेको फाइनलमा पनि एक गोल गरेकी थिइन् । चेल्सीलाई पाँचौँ पटक सुपर लिग उपाधि दिलाएकी एमा हायस उत्कृष्ट महिला प्रशिक्षक भइन् । मानवीय सेवामा समर्पित स्पेनकी जेनिफर हेरमोसोले सोक्रेटस अवार्ड जितेकी छिन् ।
बालोन डी’ ओर अवार्ड प्राप्त गरेपछि रोड्रीले आफ्नो लागि उत्कृष्ट क्षण भएको बताए । उनले भनेका छन् ‘म र मेरो परिवारको लागि यो एकदमै विशेष क्षण हो । बालोन डे’ओभरमा फिफा वरियतामा शीर्ष सयमा रहेका राष्ठ्रका पत्रकारहरुको जुरीले गरेको भोटका आधारमा उत्कृष्ट पुरुष खेलाडी छनोट गरिएको हो । बार्सिलोनाका युवा स्टार लामिन यामलले कोपा ट्रफी जिते भने अर्जेन्टिनाका गोलकिपर एमिलयानो मराटिनेजले उत्कृष्ट गोलकिपर बन्दै यासिन ट्रफी जिते । यस्तै ह्यारी केन र केलिएन एमबाप्पेले गर्ड मुलर अवार्ड जिते ।








