राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पेरिस पारालिम्पिक्समा ऐतिहासिक पदक जितेकी पलेशा गोवर्धनलाई सम्मान स्वरूप नगर परिक्रमा गराएको छ । पारालिम्पिक्समा पलेशाले नेपालका लागि पहिलोपटक ओलम्पिकमा पदक जितेकी थिइन् ।
परिक्रमा एअरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राखेपको प्राङ्गणमा पुगेर सम्पन्न भएको छ । पलेशा, जो पारा तेक्वान्दो खेलाडी हुन्, उनले महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कांस्य पदक जितेकी थिइन् ।
पारालिम्पिक्समा पलेशासहित पौडी खेलाडी भीमबहादुर कुमाल र तेक्वान्दोकै खेलाडी भरतसिंह महता पनि सहभागी भएका थिए । पेरिस पारालिम्पिक्समा कांस्य पदक जितेपछि पलेशा गोवर्धनसहितको नेपाली पारा तेक्वान्दो टोली आज बिहान स्वदेश फर्किएको हो । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले स्वागत गरेका थिए ।