दक्षिण एसियाली देशहरुबीच हुने २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबल प्रतियोगितामा आज बङ्गलादेश र श्रीलङ्का खेल्दैछन् । खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो तीन बजे शुरू हुनेछ ।
यसअघि हिजो भएको खेलमा साविक विजेता भारतले भुटानलाई १–० गोलले हरायो । उद्घाटन खेलमा अस्ति आइतवार नेपालले श्रीलङ्कालाई १–० गोलले पराजित गरेको थियो । नेपालले समूहको दोस्रो खेल पर्सि बिहीवार बङ्गलादेशसँग खेल्नेछ ।
च्याम्पियनशिपमा पाकिस्तानबाहेक दक्षिण एसियाका ६ टोली सहभागी छन् । ६ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइएको छ र दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको समूह ‘ए’ मा आयोजक नेपालसँगै बङ्गलादेश र श्रीलङ्का तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् ।