काठमाडौं - काठमाडौं महानगरपालिकाले बिहिवार सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) नेसन्स लिगको उपविजेता नेपाली महिला भलिबल टोलीका खेलाडीलाई काठमाडौं जनही एक लाख रूपैयाँले सम्मान गरेको छ । मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलको उपस्थितिमा खेलाडीहरू प्रत्येकलाई एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ ।
१४ खेलाडीलाई जनही एक लाख रुपैयाँ प्रदान गरिदा टिम म्यानेजर, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र फिजियोलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्रदान गरिएको छ ।
महानगरपालिकाका प्रमुख बालेन शाहले खेल विकासका लागि खेलाडीको प्रयत्नलाई नतिजामा रुपान्तरण गर्न सरकारी संयन्त्रले काम गर्नुपर्ने खाँचो रहेको बताएका छन् ।
मेयर शाहले उपविजेता टोलीले सरकारी संयन्त्रलाई खेलको पूर्वाधार, खेलमैत्री वातावरण र खेलाडीको क्षमता विकासमा काम गर्न ध्यानाकर्षण गराएको बताए । उनले यो विषय छुटेको महसुस गराएको र यसमा निरन्तर काम गर्ने प्रतिकृया दिए । महानगरपालिकाको यो पहलले खेलाडीहरूको हौसला र प्रोत्साहनका लागि ठूलो योगदान पुर्याउने विश्वास गरएिको छ ।
बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको फाइनल भिडन्तमा ३–२ सेटले भारत विजेता र नेपाल उपविजेता भएका थिए । प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, इरान , माल्दिभ्स गरि ५ टोली सहभागी थिए ।