काठमाण्डौ-काभा महिला भलिबल लिगको उपाधिका लागि आज नेपाल र भारतको बीचमा खेल हुँदैछ । यो खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बेलुका पाँच बजे सुरु हुनेछ । यसअघि हिजो भएको सेमिफाइनल खेलमा नेपालले इरानलाई ३–० को सोझो सेटमा पराजित गरेर फाइनलमा स्थान बनाएको थियो ।
नेपालले इरानलाई हराएर लिग चरणमा बेहोरेको हारको बदला पनि लिएको छ, जहाँ नेपाल ३–२ को सेटमा हारिएको थियो । हिजो भएको पहिलो सेमिफाइनलमा भारतले श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा पुगेको थियो ।
महिला भलिबलमा नेपालले भारतलाई केवल एक पटक मात्र हराएको छ । गत शनिबार भएको लिग चरणको खेलमा नेपालले भारतलाई ३–२ को सेटमा हराएर ऐतिहासिक उपलब्धि हासिल गरेको थियो ।
आजको फाइनल खेलमा भारतलाई हराउन सके नेपाली महिला भलिबल टोलीले नयाँ इतिहास रच्ने छ । यसअघि सन् २०१९ को दक्षिण एसियाली खेलकुदमा नेपाल उपाधि नजिक पुगे पनि अन्तिम सेटमा भारतसँग पराजित भएको थियो । त्यस्तै, सन् २०२३ को काभा महिला च्यालेन्ज कपमा पनि नेपालले भारतसँग हारेर उपाधि गुमाएको थियो ।
कप्तान अरुणा शाहीले इरानसँग जस्तै भारतलाई पनि सोझो सेटमा हराएर उपाधि जित्ने लक्ष्य रहेको बताइन् । उनले घरेलु समर्थकको समर्थनले खेलमा थप फाइदा पुग्ने विश्वास व्यक्त गरिन् ।
प्रधानमन्त्री केपी ओली पनि फाइनल खेल हेर्न उपस्थित हुने नेपाल भलिबल सङ्घले जानकारी दिएको छ । तेस्रो स्थानका लागि दिउँसो दुई बजे इरान र श्रीलङ्काबीचको खेल हुनेछ ।
काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरान पाँच देश सहभागी थिए , जसमा माल्दिभ्सले एक अङ्क पनि नजोडी लिगबाट बाहिरिएको छ ।