काठमाण्डै । बक्सर सिन्डी एनगाम्बाले पेरिस ओलम्पिक २०२४ मा पदक जित्ने पक्का भएको छ तर उनको पदक भने कुनै देशको नाममा गनिनेछैन । क्यामरूनमा जन्मिएर १० वर्षको उमेरमा बेलायत पुगेकी उनीसँग त्यहाँको राहदानी छैन । कुनै पनि देशको राहदानी नभएपछि उनी ओलम्पिकमा शरणार्थी टोलीबाट खेलेकी थिइन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले उत्कृष्ट खेल प्रदर्शन गर्ने तथा कुनै पनि देशको राहदानी नहुने खेलाडीका लागि शरणार्थी टोलीबाट खेल्ने अनुमति दिँदै आएको छ । २५ वर्षीय एनगाम्बाले महिला ७५ केजी तौल समूहको सेमिफाइनलमा स्थान पक्का गरेसँगै कम्तिमा कास्य जित्ने भएकी हुन् । उनले अन्तिम आठको खेलमा छैटौं वरीयताकी घरेलु खेलाडी डेभिना मिसेललाई पराजित गरेकी हुन् ।
अब एनगाम्बाले जितेको पदक कुनै देशको तालिकमा गणना नभए पनि त्यो पदक शरणार्थी टोलीमा गनिनेछ ।
उनले मेडल जित्ने पहिलो शरणार्थी हुनु ठूलो कुरा भएको र उनि केवल एक मानव हुनाले, संसारभरका अन्य शरणार्थी र एथलीटहरू जस्तै भएको बताएकी छन् । शरणार्थी ओलम्पिक टोलीले पहिलोपटक २०१६ को रियोमा प्रतिस्पर्धा गरेको थियो । तर कोही पनि खेलाडीले अहिलेसम्म पदक जित्न सकेका थिएनन् ।
पेरिस ओलम्पिकको उद्घाटन समारोहमा शरणार्थी टोलीको झण्डा बोकेकी एनगाम्बाले बिहीबार पानामाकी एथेना बायलोनसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछिन् ।