काठमाण्डौ : आज काभा महिला भलिबल लिगमा नेपालले इरानसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बेलुका सवा ५ बजेबाट सुरू हुनेछ । आजको खेल अघि दिउँसो तीन बजे श्रीलङ्का र माल्दिभ्सबीच पनि एक खेल हुनेछ ।
नेपालको लागि आजको खेल महत्त्वपूर्ण छ, किनभने यदि नेपालले इरानलाई सोझो सेटमा वा ३–१ को सेटमा पराजित गर्न सक्यो भने, भारतलाई पछि पार्दै शीर्ष स्थानमा पुग्नेछ । वर्तमानमा नेपाल दुई खेलपछि पाँच अङ्कका साथ दोस्रो स्थानमा छ । यसअघि नेपालले श्रीलङ्कालाई हराएको थियो । सात अङ्कसहित शीर्ष स्थानमा रहेको भारतले यसअघि इरान र माल्दिभ्सलाई हराएको थियो । नेपालले भोलि माल्दिभ्ससँग खेल्नेछ भने भारतले श्रीलङ्कासँग प्रतिस्पर्धा गर्नेछ ।
हिजो भएको खेलमा भारतलाई ३–२ को सेटमा हराउँदै नेपालले ऐतिहासिक उपलब्धी हासिल गर्न सफल भयो । यसअघि सन् २०१९ को दक्षिण एसियाली खेलकुद सागमा नेपाल उपाधि नजिकै पुगे पनि अन्तिम सेटमा भारतसँग पराजित भएको थियो । काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरान सहभागी छन् । लिग चरणको खेलपछि शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान पाउनेछन्, जबकि अन्तिम हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ ।