काठमाडौं । भुटानको थिम्पुमा चलिरहेको काभा बिच भलिबल च्याम्पियनसिपमा नेपाली महिला टोलीले लगातार दोस्रो जित निकालेको छ । थिम्पुको चाङ्लिमिथाङ राष्ट्रिय रङ्गशालामा आज भएको खेलमा नेपाली महिला टोलीले घरेलु टोली भुटानलाई २–० को सेटमा हरायो ।
कमला पुन र मनिषा चौधरीको नेपाली जोडीले भुटानी जोडी लेकेन र डेछेनलाई २१–५ र २१–४ को स्कोरले पराजित गरेको हो । महिलातर्फ पहिलो खेलमा नेपालले उज्वेकिस्तानलाई २१–१७ र २१–१५ ले हराएको थियो ।
यस्तै, पुरुषतर्फ बिहान भएको खेलमा नेपालले भुटानको ‘बी’ टिमलाई हराएर पहिलो जित निकाल्यो । मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले दुवै सेट २१–१४ को स्कोरमा आफ्नो पक्षमा पारेको हो । अब नेपाली टोलीले आगामी खेलमा थप सफलता प्राप्त गर्ने अपेक्षा गरिएको छ ।