काठमाडौं, साफ च्याम्पियनसिप २०२३ को पहिलो खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले हार बेहोरेको छ ।
भारतको बेंगलोरस्थित कन्तिरभा रंगशालामा नेपाल कुवेतसँग ३ -१ ले पराजित भएको हो । कुवेतले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको हो । नेपालले भने एक मात्र गोल दोस्रो हाफमा गरेको थियो ।
कुवेतका लागि मोहमद अब्दुल्लाह, शाइबाइबा अल्खाल्दी तथा खालेद हजियाले १- १ गोल गरे ।
भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा भएको खेलमा कुवेतका लागि पहिलो गोल खेल सुरु भएको २३ औँ मिनेटमा कप्तान खालिद हाजिहले गरेका थिए । फवाज अलोताइबीको कर्नरमा नेपालको डिफेन्स र गोलरक्षकबीच फ्रन्ट पोस्टमा समन्वय हुन नसक्दा हजियाले खाली पोस्टमा बललाई गोलको दिशा दिए ।
३६ औं मिनेटमा कुवेत अग्रता दोब्बर पार्नबाट चुक्यो । फवाज अलोताइबीले दायाँ विंगबाट दिएको क्रसमा मोहमद अब्दुल्लाहको हेडर क्रसबारमा लागेर फर्किएको थियो ।
४१ औं मिनेटमा कुवेतले अग्रता दोब्बर पार्यो । काउन्टर अट्याकमा अघि बढेको मुभलाई शाइबाइबा अल्खाल्दीले गोलमा परिणत गरेका थिए । बायाँ विंगबाट मोहमद अब्दुल्लाहले दिएको पास पेनाल्टी क्षेत्रभित्र रोक्दै विमल पाण्डेलाई बिट गरेपछि अल्खाल्दीले गोलरक्षक किरण चेम्जोङलाई बिट गरेका थिए ।
६५ औं मिनेटमा कुवेतले अर्को गोल थप्यो । हमाद अल कलाफको क्रस अनन्तको हातमा लाग्दा रेफ्रीले पेनाल्टीको निर्णय दिएका थिए । मोहमद अब्दुल्लाहले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै कुवेतलाई ३-० को अग्रता दिलाए ।
तर त्यसको दुई मिनेट नबित्दै नेपालले खेलमा गोल फर्कायो । अनन्तको लामो पास कुवेतको डिफेन्सले क्लियर गर्न नसक्दा अन्जनले बललाई अघि बढाउँदै फिनिस गरे । अन्जनको राष्ट्रिय टोलीबाट यो व्यक्तिगत १२ औं गोल पनि हो ।
७५ औं मिनेटमा कुवेतका मोहमद अब्दुल्लाह अग्रता बढाउनबाट बन्चित रहे । गोलरक्षक किरणले उनको शक्तिशाली प्रहारलाई विफल पार्दै नेपालको झिनो सम्भावना कायम राखे । त्यसपछि नेपालले पाएको अवसर सदुपयोग गर्न नसक्दा पहिलो खेलमा नै हार बेहोर्न पुग्यो ।