काठमाडौं । नेपाल ओलम्पियन संघले जेठ १९ गतेदेखि पोखरामा ओलम्पियन पुनर्मिलन तथा ओलम्पियन सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ ।
संघले पोखरा महानगरपालिकाको खेलकुद विकास समिति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, कास्कीको संयोजनमा जेठ १९ देखि २१ गतेसम्म पुनर्मिलन तथा सम्मानलगायत विभिन्न कार्यक्रम आयोजना गर्ने भएको हो ।संघले यसअघि पहिलो ओलम्पियन पुनर्मिलन तथा सम्मान कार्यक्रम गत वर्ष असारमा काठमाडौंमा भएको थियो । उपत्यका बाहिर पनि कार्यक्रम आयोजना गर्ने उद्देश्यका साथ कार्यक्रम यसपटक पोखरामा आयोजना गर्ने निर्णय गरिएको संघले जनाएको छ ।
जेठ २० गते बिहान प्रभात फेरी तथा सोही साँझ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको मुख्य आतिथ्यतामा पुनर्मिलन तथा सम्मान कार्यक्रम हुनेछ । जेठ २१ गते गण्डकी प्रदेशका खेलाडी, खेलकर्मी तथा खेलप्रेमीहरूसँग ओलम्पियनहरूको अन्तरक्रिया कार्यक्रम हुनेछ ।
संघले सन् १९६४ देखि २०२० सम्म भएको ओलिम्पिकमा देशको प्रतिनिधित्व गर्ने ओलम्पियनहरूलाई एकै थलोमा सहभागी गराएर विभिन्न कार्यक्रम गर्ने उद्देश्यका साथ यो कार्यक्रम राखेको बताएको छ । कार्यक्रममा विश्व ओलम्पियन महासंघका प्रतिनिधिको सहभागिता रहनेछ । कार्यक्रमको स्थानीय व्यवस्थापनका लागि पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारको संयोजकत्वमा १३ सदस्यीय समन्वय समिति तथा ५ सदस्यीय सल्लाहकार समिति पनि बनाइएको संघले जनाएको छ ।