काठमाडौं, विश्वकपको सर्वाधिक सफल टोली ब्राजिल कतारमा जारी २२औं विश्वकप फुटबलको क्वार्टरफाइनलमा विश्वकपको सर्वाधिक सफल टोली ब्राजिल प्रवेश गरेको छ ।
स्टेडियम ९७४ मा सोमबार राति भएको प्रिक्वार्टरफाइनल खेलमा ब्राजिलले एसियाली टोली दक्षिण कोरियामाथि ४-१ गोलको सानदार जित निकाल्दै अन्तिम आठमा स्थान बनाएको हो ।
खेलको सुरुवातदेखिनै आक्रामक खेल प्रदर्शन गरेको ब्राजिलले चारवटै गोल पहिलो हाफमा गरेको थियो ।
ब्राजिलको जितमा भिनिसियस जुनियर, कप्तान नेयमार, रिर्चालिसन र लुकास पाक्वेटाले गोल गर्नुभयो । दक्षिण कोरियाका पार्क सेउङ हो ले सान्त्वना गोल फर्काएका थिए ।
ब्राजिलले सातौं मिनेटमै भिनिसियसको गोलमा अग्रता लिएको थियो ।
नेयमारले १३औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । कोरियाका रक्षकले डिबक्स भित्र रिचार्लीसनलाई लडाएपछि ब्राजिलले पेनाल्टीको अवसर पाएको थियो ।
नेयमारको राष्ट्रिय टोलीका लागि यो ७६औं गोल हो । उनी ब्राजिलका सर्वाधिक गोलकर्ता महान खेलाडी पेलेको कीर्तिमानबाट एक गोलले मात्र पछाडि छन् ।
यसैगरी एक पछि अर्को आक्रमण बुनेको ब्राजिलका लागि रिचार्लीसनले २९औं मिनेटमा थियागो सिल्भाको पासमा गोल गर्दै थप बलियो बनाए ।
त्यसपछि ३६औं मिनेटमा पाक्वेटाले भिनिसियस जुनिअरको पासमा गोल गर्दै ब्राजिलको सहज जितको आधार बनाए। दोस्रो हाफमा रक्षात्मक र आक्रामक दुवै रणनिति अपनाएको ब्राजिलको थप गोल प्रयासका दक्षिण कोरियाका गोल रक्षक किम सुङयु बाधक बने ।
सर्वाधिक पाँच पटकको विश्वकप च्याम्पियन ब्राजिलले अब क्वार्टरफाइनलमा साविक उपविजेता क्रोएसियाको सामना गर्नेछ । सोमबार रातिनै भएको प्रिक्वार्टरफाइनल खेलमा क्रोएसियाले अर्को एसियाली टोली जापानलाई पेनाल्टी सुटआउटमा ३-१ गोलले स्तब्ध बनाएको थियो ।
नकआउट चरणमा स्थान बनाएको अष्ट्रेलिया अर्जेन्टिनासँग २-१ गोलले पराजित भईसकेको छ ।