माघ १९,२०७९ / ०७ : ५७ अपरान्ह / 2023-02-02 07:57 pm

        फिफा विश्वकपको नकआउट चरणमा कुन कुन देश पुगे ?

        - २ महिना अगाडि
        मंसिर १४,२०७९

        काठमाडौं,  इंग्ल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । वेल्सलाई ३–० गोल अन्तरले हराउँदै इंग्ल्यान्ड राउण्ड अफ १६ मा प्रवेश गरेको हो । इंग्ल्यान्डलाई जित दिलाउन मार्कुस राषफोर्डले दुई गोल गरे । फिल फोडेनको नाममा एक गोल रह्यो । खेलको ५० औं मिनेटमा राषफोर्डले गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए । ५२ औं मिनेटमा फोडेनले गोल गर्दै इंग्ल्यान्डलाई २–० को अग्रता दिलाए ।

        त्यसपछि खेलको ६८ औं मिनेटमा राषफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई ३–० को जित दिलाए । जितसँगै इंग्ल्यान्ड समूह ’बी’ को विजेता बनेको छ । इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोडेर शीर्ष स्थान हासिल गर्यो । वेल्स भने १ अंक जोडेर पुछारमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ ।

        यस्तै, अमेरिका पनि विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । इरानलाई १–० गोल अन्तरले हराउँदै अमेरिका राउण्ड अफ १६ मा प्रवेश गरेको हो । अमेरिकाको जितमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे । उनले खेलको ३८ औं मिनेटमा गोल गरेका थिए । जितसँगै अमेरिका समूह ’बी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । इरान ३ अंक जोडेर तेस्रो स्थानमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ । 

        यस्तै, सेनेगल पनि  विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । इक्वेडरलाई २–१ गोल अन्तरले हराउँदै सेनेगल राउण्ड अफ १६ मा प्रवेश गरेको हो । सेनेगललाई जित दिलाउन इस्माइला सार र कालिडोउ कुलिबालीले एक एक गोल गरे । इक्वेडरका मोइसेस सियासेडोले एक गोल फर्काए । जितसँगै सेनेगल समूह ’ए’ को दोस्रो स्थानमा रहदै नकआउट चरणमा पुगेको हो । इक्वेडर समूह चरणबाट बाहिरिएको छ । 

        यस्तै, नेदरल्यान्ड्स समूह विजेता बन्दै फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । आयोजक कतारलाई २–० गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स समूह विजेता बनेको हो । नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाग्पो र फ्रेन्की डी योङले एक एक गोल गरे । जितसँगै नेदरल्यान्ड्सले ३ खेलमा ७ अंक जोड्यो । नेदरल्यान्ड्स समूह ’ए’ को शीर्ष स्थानमा रहदै नकआउट चरणमा पुगेको हो । कतारले पुछारमा रहदै प्रतियोगिताको अन्त्य गरेको छ ।

          सम्बन्धित समाचारहरु

              • ताजा खबर
              • धेरैले पढेको