मंसिर २०,२०७९ / ०१ : २७ अपरान्ह / 2022-12-06 01:27 pm

        विश्वकप फुटबल : स्पेनको धमाकेधार सुरुवात, कोस्टारिका ७–० गोल अन्तरले पराजित

        - एक हप्ता अगाडि
        मंसिर ८,२०७९

        काठमाडौं, कतारमा जारी फिफा विश्वकप फुटबलमा स्पेनले सानदार विजयी सुरुआत गरेको छ । बुधबार राति भएको खेलमा कोस्टारिकालाई ७–० गोल अन्तरले हराउँदै स्पेनले सानदार सुरुआत गरेको हो ।

        विश्वकपमा स्पेनले पहिलो पटक ७ गोलको फराकिलो जित निकालेको हो । अल थुमामा स्टेडियममा स्पेनलाई जित दिलाउन फेरान टोरेसले दुई गोल गरे । डानी ओल्मो, मार्को एसेन्सियो, गाभी, कार्लोस सोलेर र अल्भारो मोरटाको नाममा एक एक गोल रह्यो । एकतर्फी खेलमा स्पेनले ११ औं मिनेटमा ओल्मोको गोलबाट सुरुआती अग्रता बनाएको थियो । 

        ओल्मोको गोल विश्वकपमा स्पेनको १०० औं गोल हो । खेलको २१ औं मिनेटमा एसेन्सियोले गोल गर्दा स्पेनको अग्रता २–० को बन्यो । खेलको ३१ औं मिनेटमा फेरान टोरेसले पेनाल्टीबाट गोल गरेपछि स्पेन पहिलो हाफमा ३–० ले अघि रह्यो । कोस्टारिकाका ओस्कारले जोर्डी अल्बालाई पेनाल्टी एरियाभित्र फउल गर्दै लडाएपछि स्पेनले पेनाल्टीको अवसर पाएको हो । जसमा टोरेसले सहजै गोल गरे । 

        खेलको ५४ औं मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ४–० को अग्रता दिलाए । खेलको ७५ औं मिनेटमा गाभीले गोल गर्दै स्पेनलाई ५–० को अग्रता दिलाए । गाभी विश्वकपमा स्पेनका लागि गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बने । १८ वर्ष ११० दिनका गाभी पेले र मानुएल रोससपछि विश्वकपमा गोल गर्ने तेस्रो कान्छा खेलाडी बने । खेलको ९० औं मिनेटमा सोलेरले गोल गर्दै स्पेनलाई ६–० को अग्रता दिलाए ।

        त्यसपछि खेलको इन्जुरी समयमा मोरटाले गोल गर्दै स्पेनलाई ७–० गोलको फराकिलो जित दिलाए । जितसँगै स्पेनले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । समूह ’ई’ को स्पेन शीर्ष स्थानमा रहेको छ । हारबाट विश्वकपको सुरुआत गरेको कोस्टारिका पुछारमा रहेको छ ।

          सम्बन्धित समाचारहरु