मंसिर २०,२०७९ / ०१ : ५७ अपरान्ह / 2022-12-06 01:57 pm

        फिफा विश्वकप :अर्जेन्टिनालाई पराजित गर्दै साउदी अरबको ऐतिहासिक जित

        - एक हप्ता अगाडि
        मंसिर ६,२०७९

        काठमाडौं, साउदी अरबले कतारमा जारी विश्वकप फुटबलमा ऐतिहासिक जित निकालेको छ । आज भएको खेलमा उपाधिको दाबेदार मानिएको अर्जेन्टिनालाई २–१ गोलअन्तरले पराजित गर्दै साउदी अरबले ऐतिहासिक जित निकालेको हो ।

        लुसेल आइकोनिक स्टेडियममा मंगलबार साँझ भएको खेलमा पहिलो हाफमा अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा अग्रतालाई जोगाउन सकेन । साउदी अरबको जितमा  सलेह अल सेहरी र सलेम अल दसरीले गोल गरे । अर्जेन्टिनाका कप्तान लियोन मेस्सीको सुरुवाती गोल सान्त्वना गोलमा परिणत भयो । 

        अर्जेन्टिनाले पहिलो हाफमा सुरुवाती अग्रता लिएको थियो । मेस्सीले १०औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् । लौटारो मार्टिनेजलाई डिबक्सभित्र विपक्षी रक्षकले फल गरेपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो । 

        पहिलो हाफमा अर्जेन्टिनाले ६३ प्रतिशत बल पोसेसन राखे पनि थप गोल गर्न सकेन । पहिलो हाफमै अर्जेन्टिनाको थप तीनवटा गोल अफ साइड भएको थियो । पहिलो हाफमा कमजोर देखिएको साउदी अरब दोस्रो हाफमा लयमा देखिएको थयो ।

        दोस्रो हाफमा साउदी अरबले सुरुवाती पाँच मिनेटमै दुई गोल फर्काएको थियो । ४८औं मिनेटमा सलेह अल सेहरीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ५३औं मिनेटमा सलेम अल दसरीले उत्कृष्ट गोल गर्दै साउदीलाई अग्रता दिलाए । दुई गोलपछि रक्षात्मक देखिएको साउदी अरबविरुद्ध खेलको अन्तिमसम्म अर्जेन्टिनाको गोल फर्काउने प्रयास सफल भएन ।

        दोस्रो हाफमा ६८ प्रतिशत बल पोसेसन राखेपनि अन्ततः अर्जेन्टिना हार खेप्न बाध्य बन्यो । जितसँगै समूह ‘सी’ मा साउदी अरबले तीन अंक बनाएको छ । अर्जेन्टिनाले हारबाट खेलको सुरुवात गरेको छ । यस समूहमा अर्जेन्टिना, साउदी अरबसहित मेक्सिको र पोल्यान्ड छन् । 

          सम्बन्धित समाचारहरु