भाद्र १,२०७९ / ०४ : १७ पूर्वान्ह / 2022-08-17 04:17 am

        रुकुम पश्चिमको घट्नाको संसदीय छानबिन गर्न नेपाल महिला संघको माग

        - २ वर्ष अगाडि
        जेष्ठ १४,२०७७

        काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ मा भएको घटनाबारे गहिरो अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । संघले घटनाको कडा निन्दा पनि गरेको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले उक्त घट्ना दलित समूदायका लागि मात्रै नभएर सम्पूर्ण मानव समूदायका लागि अत्यन्तै दुःखद् एवम् अमानवीय घट्ना भएको पनि बताएको छ ।

        संघका केन्द्रीय महासचिवहरु धना खतिवडा र मञ्जु खाँण, र कोषाध्यक्ष जानकी सिंहको नाममा जारी प्रेस वक्तव्यमा भनिएको छ,‘यही जेष्ठ १० गते राति पश्चिम् रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा घटेको बिभत्स घट्नामा नबराज बिकलगायतका युवाहरुले ज्यान गुमाएका छन् भने ४ जना बेपत्ता पारिएका छन् । यो घटना दलित समुदायका लागि मात्रै नभएर सम्पूर्ण मानव समुदायका लागि अत्यन्तै दुःखद् एंव अमानवीय घट्ना हो ।’

        आजको २१औं शताब्दीमा पनि जातीय बिभेद एबं छुवाछुतका कारणले घटेको यस्ता घटना ज्यादै निन्दनीय भएको संघको ठहर छ । संघले थप भनेको छ,‘यस घटनाले हाम्रो समाजको यथार्थ चित्रण गरेको छ । यस्तो अमानवीय घृणित कार्यको नेपाल महिला संघ घोर भत्सर्ना गर्दछ ।’

        उक्त घटनामा दिवंगत भएका सबैप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै बेपत्ता पारिएकाहरूको छिटोभन्दा छिटो खोजी गरिनुपर्ने पनि संघको माग छ । साथै, उक्त घट्नालाई सामान्य रूपमा नलिईकन संसदीय छानबिन समिति गठन गर्नुपर्ने संघको जोडदार माग छ ।

        उक्त घट्नाको निश्पक्ष रूपमा छानबिन गरि सत्य, तथ्य बाहिर ल्याई सम्पूर्ण दोषीहरूलाई नेपालको मुलुकी अपराध संहिता–२०७४ र छुवाछुत तथा भेदभाव कसुर सजाय ऐन–२०६८ अन्तरगत कानुनी दायरामा ल्याई हदै सम्मको सजाय दिनुर्पे संघको माग छ । त्यस्तै, पीडित परिवारलाई क्षतिपूर्ति तथा सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने पनि संघले माग गरेको छ ।

          सम्बन्धित समाचारहरु