चैत २२,२०८२ / ०६ : ३८ अपरान्ह / 2026-04-05 06:38 pm
      • param ad
      • furniture
      • veera Incorporation

      असारमा मेलम्चीको पानी मेलम्ची आउँछ : मन्त्री मगर

      - ६ वर्ष अगाडि
      फागुन २,२०७६

      काठमाडौं, खानेपानी मन्त्री विना मगरले मेलम्चीको पानी उपत्यकावासीका साथै मुलुकभरका जनताको चिन्ताको विषय रहेको भन्दै अब जनता निराशा हुने दिन गएको बताउनुभएको छ। सरकारको तर्फबाट मेलम्ची खानेपानी आयोजनाबारे बिहीबार श्वेतपत्र जारी कार्यक्रममा उहाँले यस्तो भनाइ राख्नुभएको हो। ‘मेलम्ची आयोजनाले निराशा मात्रै प्राप्त गरेको थियो। अबको दिनमा यस्तो हुँदैन। असारमा मेलम्ची आउँछ, आउँछ।

      विश्वस्त हुनुहोस्’ –मन्त्री मगरले बताउनुभयो। उहाँले मेलम्ची आएपछि खानेपानीसम्बन्धी धेरै समस्या समाधान हुने दाबी गर्नुभयो। ‘सरकारले नीति तथा कार्यक्रमअनुसार आउने असारमै पानी ल्याउँछ। यसमा विश्वस्त र आशावादी छु। ठेकेदारको कामप्रति पनि उत्साहित बनेको छु’ –उहाँले बताउनुभयो।

      मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशकुमार खत्रीले पनि असारभित्र मेलम्चीको पानी उपत्यकावासीलाई खुवाउने प्रतिबद्धता जनाउनुभयो। ‘सरकारले जारी गरेको नीति तथा कार्यक्रमअनुसार असारमै मेलम्चीको पानी ल्याउने हाम्रो योजना छ’, उहाँले भन्नुभयो– ‘त्यस अवधिसम्म वैकल्पिक व्यवस्था गरेर भए पनि पानी ल्याउँछौँ।’

      वैकल्पिक तवरले पानी ल्याउने कामसमेत अगाडि बढिसकेको उहाँको दाबी रहेको छ। वैकल्पिक तरिकाले ल्याएको पानी मुहानमा बाँध निर्माण नहुन्जेलसम्म पनि निरन्तरता पाउने उहाँको भनाइ छ। उहाँको भनाइलाई आधार मान्ने हो भने अब आउने असारदेखि निरन्तर रुपमा मेलम्ची खोलाको पानी उपत्यकावासीले उपभोग गर्न पाउनेछन्।

      सरकारको नीति तथा कार्यक्रमलाई सम्बोधन गर्न अस्थायी बाँध निर्माण गरी वैकल्पिक व्यवस्थाको नीति अपनाएको समितिको भनाइ रहेको छ भने स्थायी बाँध निर्माणको समेत काम अघि बढिरहेको उहाँले दाबी गर्नुभयो। स्थायी बाँधको माथिल्लो भागबाट अस्थायी बाँध निर्माणको काम भइरहेको समितिले जनाएको छ।

      गएको माघमा मेलम्ची आयोजनाको काम गर्ने मुख्य ठेकेदार सीएमसी भागेपछि चिनियाँ ठेकेदार कम्पनी सिनोहाइड्रोलाई सुरुङ र मुहान गरी दुई ठेक्काको जिम्मा दिइएको छ। सम्झौताअनुसार सुरुङको काम आउने असोजभित्र र मुहानको काम पुस महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का लगाएको थियो।

      तर त्यसअघि नै मेलम्चीको पानी खुवाउने कार्यक्रमअनुसार गर्न निर्देशन दिएको समितिका कार्यकारी निर्देशक खत्रीले बताउनुभयो।‘सुरुङको १२ महिना र मुहानको १५ महिनाभित्र काम सम्पन्न गर्न ठेक्का लगाए पनि त्यसअघि नै पानी खुवाउन सकिन्छ कि भनेर सोचेर त्यसअनुसार निर्देशनसमेत दिइसकेका छौँ’, उहाँले भन्नुभयो– ‘ठेकेदारको निर्माण सामग्री, साधन, काम गर्ने शैली हेर्दा तोकिदिएको अवधि अगावै निर्माण सम्पन्न हुनेमा विश्वस्त छु।’

      अहिले नयाँ ठेक्काको भौतिक प्रगति ६५ प्रतिशत रहेको उहाँले बताउनुभयो। अहिले १० प्याकेजमा ठेकेदारले बाँकी काम गरिरहेको छ। त्यस्तै खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले असारभित्रै उपत्यकावासीलाई मेलम्चीको पानी खुवाउन तीव्र गतिले लागिरहेको बताउनुभयो।

      यसका लागि मन्त्रालयले पनि सूक्ष्म तरिकाले नियमन र अनुगमन गर्ने काम भइरहेको उहाँले दाबी गर्नुभयो। उहाँले सरकारको नीति तथा कार्यक्रमअनुसार असारमै पानी ल्याउने लक्ष्यअनुसार काम गरिरहेको र मन्त्रालयले समेत विशेष पहल गरिरहेको उहाँको भनाइ रहेको छ। नेपाल समाचार पत्रबाट

        सम्बन्धित समाचारहरु