राज्यका विभिन्न सुरक्षा अंगहरूमध्ये प्रहरी त्यस्तो संस्था हो जो हरबखत नागरिकका बीचमा हुन्छ । अपराध नियन्त्रण र शान्ति सुव्यवस्था कायम गर्न नागरिकलाई प्रहरी चाहिन्छ, प्रहरीलाई नागरिकको साथ । तर कहिलेकाँही प्रहरीले नागरिकमाथि यति सम्म अन्याय गरिदिन्छन् कि त्यसले समग्र प्रहरी प्रशासन बदनाम हुने गरेको छ ।
उपेन्द्रकान्त अर्याल प्रहरी प्रमुख हुँदा प्रहरीले ‘मुस्कानसहितको सेवा’ दिने अभियान चलाएको थियो । तीन वर्षअघि प्रहरीले ‘प्रहरी मेरो साथी’ अभियान ल्यायो । सर्वेन्द्र खनाल महानिरीक्षक बनेपछि अहिले ‘समुदाय–प्रहरी साझेदारी’ अभियान चलिरहेको छ । तर, अभियान जे जे चलाए पनि आम नागरिकले प्रहरी साच्चै साथी हो भन्ने महशुस गर्न पाएका छैनन् । फाट्टफुट्ट प्रहरीले निर्दोष नागरिकमाथि गरिएको अत्याचारले त्रास सृजना भएको छ । प्रहरीको बदी लगाएका केहि व्यक्तिहरुको सन्किपनका कारण निर्दोष नागरिक पिटिएका छन् । यस्ता प्रहरीमाथि कारबाही गर्ने व्यवस्था प्रहरी ऐनमा उल्लेख छ । तर, अराजक प्रहरीलाई जोगाउन खोजेकै कारण प्रहरी संगठको आलोचना हुने गरेको पूर्व प्रहरी अधिकारीहरु बताउँछन् । विना कारण जनता कुट्ने अधिकार कुनै प्रहरीलाई छैन् । जनताको २,४ बचन प्रहरीले सहनु पर्ने हुन्छ । त्यस्तो भएको पाइदैन, न त जनता पिट्ने प्रहरीमाथि तत्काल छानविन गरि कारबाही नै भएको छ ।
पूर्व प्रहरी अधिकारीहरुका अनुसार पहिला पनि यस्ता घटना हुन्थे । थाहा पाइए दोषीमाथि तत्कालै कारबाही गरिन्थ्यो । तर, आजकल कारबाही गर्न आनाकानी गर्न थालिएको छ । यता प्रहरीका सहप्रवक्ता उमेशराज जोशीले भने जनता कुट्ने प्रहरी कर्मचारीमाथि कारबाही गरिने बताएका छन ।
प्रहरीबाट पछिल्लो समय भएका केहि हर्कतहरुले प्रहरी मेरो साथी भन्ने नारालाई गिज्याइ राखेको अनुभुति गराएको छ । नागरिक प्रहरीसँगै असुरक्षित हुनु पर्ने हो की भन्ने अवस्था उत्पन्न भएको छ । प्रहरी संगठनप्रतिकै भरोसा कमजोर हुने हो की भन्ने आशंका बढेको छ । यसतर्फ बेलैमा प्रहरीका उच्च अधिकारीहरु सचेत बनुन ।।