पाल्पा– कुनै कुनै बेलाका घटना सुन्दा पत्यार नै नलाग्ने खालका पनि हुन्छन । त्यस्तै भएको छ पाल्पाको एउटा घटना । एक महिलाको मृत्यु भएको ठानेर स्थानीयले अन्तिम संस्कारका लागि घाटमा लगेका थिए ।
हिन्दु परम्परा अनुसार घाटमा अन्तिम संस्कार गर्नु अघि नदिमा डुवाउने र नुहाइदिने धार्मीक प्रचलन अनुसार कार्य अगाडि बढाउदै जादा ति महिला बोल्न थालेपछि उनको पुनः उपचार थालिएको छ ।
झाडापखालाको विरामी भएर अस्पताल भर्ना गरिएकी ति महिलामा मुटुको पनि समस्या देखिएको थियो । पाल्पा रैनादेवी गाँउपालिका–१, सिद्धेश्वरकी ३६ वर्षीया नर्मता ज्ञवालीलाई तानसेनको मिसन अस्पतालमा १० दिन सम्म उपचार गर्दा निको नभएपछि आफन्तले नै अस्पतालबाट घर लगेका थिए ।
अक्सिजन निकालेको आधा घण्टापछि बिरामीको ज्यान गएको ठानेर आफन्तले नर्मतालाई सिधै रिँडी घाट पुर्याएका थिए ।
आधा शरीर पानीमा डुबाएको केही समयपछि उनी चल्न र कराउन थालेपछि तत्कालै गुल्मीको रिँडी प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइएको थियो । स्वास्थ्यकर्मीले धड्कन र नाडी चलेकाले थप उपचारका लागि अस्पताल लान सुझाव दिए ।
त्यसपछि सोमबार बेलुकी लुम्बिनी मेडिकल कलेज प्रभासमा भर्ना गरी नर्मताको उपचार भैरहेको छ ।








