बुटवल , बुटवल उपमहानगरपालिकाले डोजर लगाएर घर भत्काइदिएपछि विस्थापित भएका बुटवलका १६ परिवारले बसोबासको वैकल्पिक व्यवस्था गर्न माग गर्दै अनसन शुरु गरेका छन् ।
बुटवल–१ स्थित जामे मस्जिद अगाडि २ कठ्ठा बढी जग्गामा ०२८ सालदेखि बस्दै आएका १६ परिवारका टहरा उपमहानगरले बिहीबार डोजर लगाएर भत्काइदिएको थियो ।
आफूहरु घरबारविहीन भएको भन्दै शनिबार बिहानैदेखि उनीहरुले अनसन शुरु गरेका हुन् । अनसनको ब्यानरमुनि वालवालिका र वृद्धवृद्धाहरु पनि रहेका छन ।
डोजर लगाएर बस्ती हटाइएको स्थानमा उपमहानगरपालिकाले ४० लाख लागतमा कभर्ड हल शिलान्यास गर्ने तयारी गरेको वडा नंं १ का अध्यक्ष महेन्द्र लिगलले बताएका छन ।
अख्तियारको निर्देशनअनुसार उक्त जग्गा खाली गराएर उपमहानगरले कभर्ड हल बनाउने योजना बनाएको लिगलले बताए ।
विगतमा राणाहरुको घोडा बाँध्ने तबेलाको रुपमा रहेको उक्त स्थानमा रहेका टहरामा ९ परिवार मुस्लिम र ७ परिवार हिन्दु समुदायका गरीवहरु बस्दै आएका थिए ।
आफूहरुको अन्यत्र बस्ने ठाउँ नभएकाले उपमहानगरले वैकल्पिक व्यवस्था नगरेसम्म अनसन जारी राख्ने पीडितहरु बताउँछन् ।








