सुन्दा अचम्म लाग्न सक्छ , स्याउको दाना जत्री बच्ची जन्मीईन भन्ने सुन्दा । तर यो वास्तविक् घटना हो । जतिबेला उनले यो धर्ती देखिन्। उनी एउटा ठूलो स्याउको दानाजत्री थिइन्। उनको तौल २ सय ४५ ग्राममात्र थियो।
सामान्यतया बच्चा आमाको पेटमा झन्डै ४० साता बस्छन्। तर उनी २३ सातामै बाहिर आइन्। भिडिओ एक्सरेमा गर्भमा रहेको बच्चा नबढेको र यसले आमाको स्वास्थ्यलाई असर पार्ने देखिएपछि अपरेशन गरेर उनलाई बाहिर निकालिएको थियो।
गत डिसेम्बरमा उनी जन्मिएपछि डाक्टरले उनका बुवालाई भनेका थिए - तपाईंकी छोरी जन्मेकी छन्! तपाईं एक घन्टाका लागिमात्र उनीसँग हुनुहुन्छ। त्यसपछि उनी बाँच्ने छैनन्।
डाक्टरले त्यसो भनेपछी केही अतालिएका उनका बुवा घडी हेर्दै बसे। एक घन्टा बित्यो, दुई घन्टा बित्यो, दिन बित्यो अनि महिना पनि बित्यो। ती स्याउजत्री छोरीले डाक्टरलाई गलत सावित गरिन् र आफ्ना बाबुआमाको आँखामा हेरिरहिन्। अहिले उनी पाँच महिनापछि स्वस्थ्य बच्चा बनेर अस्पतालबाट घर फर्किएकी छन्।
आमाबुवाले उनको नाम सार्वजनिक गरेका छैनन्। अस्पतालमा हुँदा स्टाफहरूले उनको नाम सेबाई राखिदिएका थिए। सेबाईको कथा अमेरिकाको सान डिएगोस्थित एक अस्पतालले बुधबार सार्वजनिक गरिएको छ।
सेबाई अहिले दुई किलोग्रामकी छन्। इओवा विश्वविद्यालयले उनलाई कम तौल भएर बाँच्ने संसारकै पहिलो बच्चा भनेको छ। यसअघि सन् २०१५ मा जर्मनी २ सय ५२ ग्राम तौलको बच्चा जन्मिएको थियो।
अस्पतालले बनाएको भिडियोमा उनकी आमाले सेबाई जन्मेको दिन जिन्दगीकै सबैभन्दा डरलाग्दो दिन भएको बताएकी छन्।
‘अपरेशन कक्षमा पुगेपछि पनि मैले उनीहरू (डाक्टर) लाई भनेकी थिएँ, यो बच्चा २३ साताको मात्र भयो। ऊ बाँच्दैन होला,’ उनले भनेकी छन्।
सेबाई बाँचिन्। उनको तौल पनि विस्तारै बढ्यो। उनको ओछ्यानको छेउमा गुलाबी अक्षरमा लेखिएको थियो- ‘टाइनी बट माइटी’ अर्थात् सानी तर बलियी।
सेवाइको रेखदेख गरेकी नर्स एमा विस्टका अनुसार उनी यती सानी थीईन कि ओछ्यानमा मुस्किलले देखिन्थीन ।
सुत्केरी र बच्चाको स्वास्थ्यमा काम गर्ने मार्च अफ डायम्सकी मिसेल क्लिंगलेका अनुसार यस्तामध्ये धेरै बच्चा वर्षदिन कट्दैनन्।
तर सेबाईले अहिलेसम्म सबै बाधाहरूलाई छिचोलेकी छन्।
‘उनी पक्कै चामत्कारीक छन्,’ सेबाईको रेखदेख गरेकी अर्की नर्स किम नर्वीले भनेकी छन्।








