काठमाण्डौ - रेमिट्यान्सले धानेको नेपालको अर्थतन्त्रमा आर्थिक बृदिदर धेरै देखिएपनी त्यसले सामाजिक रुपमा असर गरिरहेको छ । वैदेशिक रोजगारको लागि बिदेशिने युवाको मृत्यु हुने क्रम बर्शेनी बढ्दै गएको छ् । यो बर्ष पनि वैदेशिक रोजगारीका लागि जानेहरुको मृत्यु हुने क्रम बढेको छ। विदेशमा रोजगारी गर्न गएकाहरू विभिन्न कारणले मृत्युको शिकार हुने अवस्था वर्षै पिच्छे बढेको देखिन्छ।
यो आर्थिक वर्षको ८ महिनाको तथ्यान्क हेर्ने हो भने विदेशबाट बाकसमा फर्किने शवको संख्या पाँच सय चार पुगेको छ । ति मध्ये ४ सय ८९ पुरुषको र १५ शव महिलाका छन्। यसरी यो तथ्यान्कलाई आधार मान्ने हो भने महिनामा औसत ६३ वटा शव भित्रिएका छन्।
वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष ०७३/७४ मा १८ महिला र ७ सय ३८ पुरुषको गरी कुल ७ सय ५६ शव भित्रिएको थियो। ०७४/७५ मा यो संख्या बढेर ८ सय २१ पुग्यो। ती मध्ये महिलाको २० र पुरुषको ८०१ थिए।
मृत्यु हुनेको संख्या मात्रै नभई बिरामी, अपाङ्ग तथा अंगभंग भई फर्किनेको संख्या समेत बढ्दै गएको तथ्याङ्कले देखाउँछ।
आव ०७३७४ मा २०४ नेपाली कामदार बिरामी तथा अपाङ्ग भएर नेपाल फर्किएका थिए। आव ०७४/७५ मा यो संख्या बढेर ३ सय ६१ पुग्यो। यस आर्थिक वर्षको ८ महिनामा १ सय ७४ नेपाली कामदार बिरामी तथा अंगभंग भई फर्किएका छन्। फागुन मसान्तसम्म कुल ४५ लाख ४० हजार ९०६ नेपाली कामदारले श्रम स्वीकृति लिएका छन्।
पछिल्लो समय वैदेशिक रोजगारमा जानेको संख्या घटे पनि मृत्यु भई आउने तथा बिरामी र अंगभंग भई फर्किनेको संख्या बढ्नुले वैदेशिक रोजगार अझै सुरक्षित नभएको प्रस्ट बुझ्न सकिन्छ ।
सिप नसिकेर अदक्ष रुपमा विदेशिने नेपाली कामदारको संख्या उच्च हुनुले पनि जोखिम बढाएको रोजगार व्यवसायीहरु बताउँछन्। संस्थागत रुपमा जानेभन्दा व्यक्तिगत तवरले जानेहरुका कारण पनि समस्या थपिएको ब्यवसायिहरु बताउछन ।
मानसिक तनावका कारण कतिपयले उतै आत्महत्या गर्ने तथा कतिपयलाई मौसमको प्रतिकुलताका कारण पनि असर पर्दा बिरामी हुने वा ज्यान जाने गरेको छ ।
वैदेशिक रोजगारमा जानेमध्ये अधिकांश कामदार अदक्ष रहने गरेको तथ्यांकले नै देखाउँछ। विभागको तथ्यांकअनुसार अनुसार वैदेशिक रोजगारमा गएकामध्ये दक्ष कामदार १. ५ प्रतिशत, अर्धदक्ष २४ र अदक्ष कामदार ७४. ५ प्रतिशत रहेको छ।
संस्थागत रुपमा जानका लागि ११० वटा देशहरुमा वैदेशिक रोजगारीका लागि खुला गरिएको छ। यद्यपी व्यक्तिगत रुपमा वैदेशिक रोजगारमा जान भने १६७ मुलुकहरु खुला गरिएका छन्। यद्यपी कामका लागि मलेसियामा सबैभन्दा धेरै नेपाली पुगेको तथ्यान्क विभागसँग छ ।
विदेसिएकामध्ये फागुनसम्म मलेसियामा ३०. १ प्रतिशत, कतारमा २७. ४, साउदी अरबमा २०. २ र दुबईको हिस्सा १३. १ प्रतिशत रहेको विभागले जनाएको छ।
यद्यपी विदेसिनको संख्या पछिल्लो पटक घट्दै गएको छ। यस आर्थिक वर्षको ९ महिनामा गत वर्षको समीक्षा अवधिको तुलनामाभन्दा ३९ प्रतिशतले वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको छ।








