काठमाण्डौ , नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गंगामाया अधिकारी आमरण अनशनमा बस्दा पनि सरकारले कुनै वास्ता नगर्नु बिडम्बना भएको बताएका छन् ।
छोराको हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै आमरण अनशनमा बसेकी गंगामायाको स्वास्थ्य अवस्था बुझ्न मंगलबार वीर अस्पताल पुगेका पौडेलले सरकारको आलोचना गरेका हुन् । युद्धकालमा भएको घटना र व्यक्तिगत रिसइवीलाई छानविन गर्न नसक्दा समस्या देखिएको पौडेलेका भनाई थियो । अपराधीले माओवादीसँग टाँसिएर आफ्नो अपराध माफ पाउने अवस्थाले समाजमा मानवियता गुमाउँदै गएको पौडेलले बताए ।
नेता पौडेलले विधिको शासन नै लोकतन्त्रको मेरुदण्ड भएको भन्दै विधिको शासन तोड्ने र स्वतन्त्र न्यायपालिकाको फैसलालाई अपमान गरेर सरकार निरंकुशतावादी मनोवृत्तितिर शासन सत्ता अगाडि बढेको आरोप लगाए ।नेता पौडेलसँग उपचारमा संलग्न स्वाथ्यकर्मीले गंगामायाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको जानकारी गराएका थिए ।
२०७२ पुष ५ गते सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गरेर कानुनी शासन लागू हुनुपर्ने माग गर्दै गंगामाया आमरण अनसन बसेकी हुन् । अधिकारी दम्पत्तिका कान्छा छोरा कृष्णप्रसाद अधिकारीको २०६१ साल जेठ २४ गते अपहरणपछि हत्या भएको थियो । छोराका हत्यारालाई कारवाहीको माग राखेर अनशनमा बसेका बेला गंगामायाको श्रीमान् नन्दप्रसाद अधिकारीको पनि निधन भएको थियो ।








