काठमाडौं, नक्कली पासपोर्ट प्रयोग गरी बेलायात जाने प्रयासमा रहेका ६ जना पाकिस्तानी नागरिक काठमाडौंमा पक्राउ परेका छन् ।
बेलायतको नक्कली पासपोर्ट लिएर आएका पाकिस्तानीलाई अध्यागमन कार्यालय र पर्यटन प्रहरीले पक्राउ गरेका हुन् । दिन मजार फारिद, इल्ही जाका, सोहेल मोहम्मद, इराम शाहजादा, इलाही जाहा र घौरी नुजात नाज पक्राउ परेका हुन् । अध्यागमन विभागले उनीहरुलाई थुनामा राखी कारबाही अघि बढाईएको छ । उनीहरुसँग दुई वटा पासपोर्ट भेटिएकाले अनुसन्धान भइरहेको अध्यागमन विभागका महानिर्देशक दीपक काफ्लेले जानकारी दिए । उनीहरुमध्ये ५ जना पाकिस्तानी गत शनिबार संयुक्त अरब इमिरेट्स हुँदै नेपाल आएका हुन् ।
बेलायाती नागरिक बनेर उनीहरु नेपाल आएका थिए । बेलायतको नक्कली पासपोर्ट उनीहरुले अध्यागमन कार्यालय विमानस्थलमा पेश गरे ।
सोही पासपोर्टमा अध्यागमनका अधिकारीहरुले ‘अनअराइभल भिसा’ दिएका थिए । पक्राउ परेकामध्ये २ जना सोमबार सोही पासपोर्ट पेश गरी बेलायत जान विमानस्थल पुगे । तर, त्यो सममा उनीहरुको पासपोर्ट जाँच गर्ने कर्मचारी फरक रहेका थिए । ती अधिकारीलाई शंका लागि उनीहरुलाई नियन्त्रणमा लिए । उनीहरुसँग आएका थप व्यक्तिहरु ठमेलमा रहेको खुलेपछि सबैलाई प्रहरीको सहयोगमा अध्यागमनले पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये ५ जनासँग पाकिस्तानी पासपोर्ट भेटिएको र उनीहरु पाकिस्तानी नागरिक भएको खुलेको हो । पक्राउ परेकामध्ये पदन मजार फारिद गिरोहका नाइके हुन् । उनी पहिले नै काठमाडौं आई बसेका थिए । ‘प्रारम्भिक अनुसन्धानमा फारिद नै गिरोहका नाइके भएको खुलासा भउको छ । अनुसन्धानमा आबद्ध अध्यागमन विभागका अधिकारीका अनुसार नेपाललाई ट्रान्जिट बनाएर उनीहरुले पाकिस्तानी नागरिकलाई युरोपियन देशमा पठाउने धन्दा गर्दै आएको छ ।
संयुक्त अरब इमिरेट्समै उनीहरुले बेलायतको नक्कली पासपोर्ट दिएका थिए ।








