काठमाडौं, संखुवासभाको अरुण तेस्रो आयोजनाको सुरुङ मार्गमा पुरिएका ४ जनाको ३८ घण्टापछि सकुशल उद्दार गरिएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सुरुङमा पुरिएका कालिकोटको सिउना–४ का ३२ वर्षीय प्रदीप शाही, जुम्लाको चन्दननाथ–४ का ४४ वर्षीय प्रेम परियार, भारतको झारखण्डका ५५ वर्षीय सुधन मुन्डा र भारतकै बिहारका ४५ वर्षीय नन्क किशोरको उद्दार गरेका हुन् । उनीहरुको उद्दारपछि प्रारम्भिक स्वास्थ्य परीक्षण थालिएको संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए । ‘
उहाँहरुलाई थप मनोसामाजिक उपचार र आरामका लागि सदरमुकाम ल्याउने तयारी भईरहेको र हाल घटनास्थलमा पुगेको स्वास्थ्यकर्मीको टोलीले प्रारम्भिक स्वास्थ्य जाँच गरीरहेको वताए । सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार सुरुङमा फसेकाहरुलाई खोज्ने क्रममा आइतबार बिहान उद्दार टोलीले ठूलो ढुंगामा प्वाल पारेको थियो । ‘
प्वालबाट उज्यालो छिरेपछि उनीहरुको आवाज सुनिएृको र त्यसपछि डोरीको प्रयोग गरेर उनीहरुलाई उद्दार गरेको घिमिरेले बताए । उनीहरु शुक्रबार करिब ९ बजेबाट सुरुङमा फसेका थिए ।








