कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनशन तोडेका छन् ।
कार्कीले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारको माग गर्दै अनशनमा बसेका थिए । उनले सरकारसँगको सहमतिपछि ४२ दिने शिशुको हातबाट जुस पिउँदै उनले अनशन तोडेका हुन् ।
विराटनगर महानगरपालिका–६ की निर्मला शर्माका ४२ दिनका छोरा उपचारको अभावमा ७ दिन विराट नर्सिङहोममा बस्न बाध्य भएका थिए । कार्कीको पहलमा, बालकलाई अस्पतालबाट डिस्चार्ज गरियो र घर फर्काइएको थियो । बुधबार राति, सरकारले कार्कीका माग पूरा गर्ने सहमति जनाएपछि, कार्कीले उनै शिशुको हातबाट जुस पिई अनशन तोडेका हुन् । कार्कीले मंगलबारबाट अनशन सुरु गरेका थिए ।
अनशनको समाप्तिसँगै, आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर र आन्तरिक मामिला तथा कानुन मन्त्री लीलावल्लभ अधिकारीले कार्कीलाई अनशनस्थलमा पुगेर सरकारले उनले उठाएका ९ बुँदे माग सम्बोधन गर्न तयार रहेको सन्देश दिएका हुन् ।
कार्कीले आफ्नो अनशनको प्रमुख कारणका रूपमा कोशी सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारमा कटौती गरेको, गरिब जेहेन्दार विद्यार्थीलाई दिने छात्रवृत्ति हटाएको, महिला स्वयं सेविकाको प्रोत्साहन भत्ता रोकिएको, र सुकुम्वासीलाई जग्गा खरिद गर्दा दिने बैंक ब्याज अनुदानको व्यवस्था कटौती गरेको विषयमा विरोध जनाएका थिए ।
प्रदेश सरकार र कार्की पक्षका प्रतिनिधिबीच बुधबार वार्ता भएको थियो, जसमा माग पूरा गर्न सरकार तयार रहेको पुष्टि गरिएको थियो ।
पूर्वमुख्यमन्त्री कार्कीले सरकार आफ्ना माग पूरा गर्न सहमति भएकोले अनशन तोडेको बताए ।